डीआईजी बिकको नेतृत्वमा अत्तरिया बसपार्कमा आरक्षण सिट प्रणाली निरीक्षण

धनगढी : सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) डम्बर बहादुर बिकले यात्रुवाहक सवारी साधनमा लागू गरिएको आरक्षण सिट प्रणालीको कार्यान्वयन स्थिति अनुगमन गरेका छन्।
शुक्रबार उनले कैलालीको अत्तरिया बसपार्कमा सार्वजनिक यातायात साधनको छड्के अनुगमन गरेका हुन्।
सो अवसरमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया कैलालीका प्रमुख प्रहरी उपरीक्षक प्रेमबहादुर शाही पनि सहभागी थिए।
डीआईजी बिकको संयोजकत्वमा भएको कार्यक्रममा प्रहरी अधिकारीहरूसँगै यातायात व्यवस्था कार्यालय कैलालीका प्रतिनिधि, राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधि, अत्तरिया उद्योग वाणिज्य संघका पदाधिकारी, पत्रकार, यातायात व्यवसायी, भद्रभलादमी तथा बुद्धिजीवीहरूको समेत उपस्थिति रहेको थियो।
कार्यक्रमका सहभागीहरूले यात्रुवाहक सवारी साधनमा यात्रुको सुविधा र सुरक्षालाई प्राथमिकतामा राख्दै आरक्षण सिट प्रणालीलाई अनिवार्य र प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने धारणा व्यक्त गरे।
अनुगमन टोलीले अत्तरिया बसपार्कमा सञ्चालनमा रहेका विभिन्न सार्वजनिक सवारी साधनको निरीक्षण गर्दै आरक्षण सिटको कार्यान्वयनको अवस्था मूल्यांकन गरेको थियो।
यस क्रममा चालक र व्यवसायीलाई कानुनी प्रावधानअनुसार आरक्षण प्रणालीलाई अझ प्रभावकारी बनाउन आग्रह गरिएको प्रहरीले जनाएको छ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया