भारतसँग सीमा जोडिएको बैतडीमा महिला र बालबालिका हराउने क्रम बढ्दै

बैतडी– भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा महिला र बालबालिका हराउने क्रम बढ्दै गएको छ।
जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क हेर्दा गएको तीन वर्षमा हराएकामध्ये ५२ जनाको अवस्था अझै अज्ञात रहेको छ। आर्थिक वर्ष २०७९÷८० मा एक सय पाँच जना हराएकामा ९१ जना फेला परेका थिए । तीमध्ये १४ जनाको अवस्था अझै अज्ञात रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलराम पाण्डेयले जानकारी दिए।
यसैगरी, आव २०८०/८१ मा एक सय १५ हराएकामा एक सय १३ जना फेला परेका थिए। आव २०८१/८२ मा एक सय २२ जना हराएकामा ८६ जना फेला परेका छन्।
बेपत्ता हुनेमा महिला र बालबालिकाको सङ्ख्या बढी रहेको प्रहरी प्रवक्ता पाण्डेयले बताए। गत आवमा ५५ महिला, २७ बालक, २९ बालिका र एक एक जना ज्येष्ठ नागरिक बेपत्ता भएको प्रहरीमा निवेदन परेको थियो। तीमध्ये ८६ जना फेला परेका छन्।
बेपत्ता भएको समयमा प्रहरीमा निवेदन दिए पनि कतिपयले फेलापरेको जानकारी नदिने भएकाले पनि बेपत्ताको तथ्याङ्क बढ्दै गएको प्रहरीले जनाएको छ।
बैतडी भारतसँग खुला सीमा भएको जिल्ला भएकाले पनि धेरैजसो भारततर्फ जाने र उतै बस्ने गरेका छन्। सामाजिक सञ्जालको दुरुपयोगलगायत कारणले पनि बेपत्ता मानिसको सङ्ख्या बढ्दै गएको प्रहरीको भनाइ छ।
प्रहरीले बेलाबेलामा समस्या परेका नागरिकको उद्धार पनि गर्दै आएको छ। गत आवमा पाँच महिला, दुई बालक र तीन बालिकाको उद्धार गरी आफन्तको जिम्मा लगाइएको प्रहरीको भनाइ छ।
ललाइफकाइ र आफैँै पनि सानै उमेरमा भारत जान खोज्ने बालबालिकाको सीमानाकाबाट उद्धार गर्ने गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया