…अनि बेलडाँडीकि उपाध्यक्षले देखाइन् अध्यक्षको गाडीमा चुरोटको बट्टा

महेन्द्रनगर : बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथले गाउँपालिका अध्यक्ष हरिश चन्द्र रानाको प्रयोगमा रहेको गाडीमा चुरोटको बट्टा फेला परेको दाबी गरेकी छन्।
उपाध्यक्ष नाथले आफ्नै कार्यकक्षमा आयोजित पत्रकार सम्मेलनमा गाडीको चाबीसहित चुरोटको बट्टा देखाउँदै यसको प्रमाण प्रस्तुत गरेकी हुन्।
बेलौरी नगरपालिका जाने क्रममा अध्यक्ष रानाले गाडी उपलब्ध नगरेको कारण उनीहरुबीच विवाद भएको थियो।
नाथले गाडीको चाबी नियन्त्रणमा लिँदै गर्दा गाडीमा चुरोटको बट्टा भेटिएको जानकारी गराएकी छन्।
नाथले भनिन्, ‘अस्ती विदाको दिनमा पनि गाडी चलेको थियो, सोही दिन गाडीमा चुरोटको बट्टा (शिखर आइस) भेटिएको हो।’
यसअघि सामाजिक सञ्जालमा उपाध्यक्ष नाथले अध्यक्ष रानालाई ‘ज्यार्ने धम्की’ दिएको अडियो सार्वजनिक भएपछि उनले पत्रकार सम्मेलन गरी प्रष्टिकरण दिएकी थिइन्।
उनले गाउँपालिकाको गाडी दुरुपयोग भइरहेको आरोप लगाएकी छन्।
सार्वजनिक अडियोमा उपाध्यक्ष नाथले गाडीका ड्राइभर कर्ण बहादुर धामीलाई निर्देशन दिँदै भनेकी थिइन्, ‘मैले काममा जान नपाउने, नचाइने काम गर्ने, भिट्टु मात्रै दे तेरा अध्यक्षकी घाटी च्याप्या हु!’
सो अडियोमा उनले गाडी नियमविपरीत प्रयोग भएको पनि उल्लेख गरेकी छन्। उनले भनिन्, ‘कसैको बाउ बोक्ने, कसैकी जोई बोक्ने, कुनैको बा को गाडी होइन, कसैलाई रात–बिहान पुर्याउन, त्यही गाडी नाचेकै नाच्या हुन्छ। मैले काममा जान नपाउने!’
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया