Hikmat Acharya
  • ५ भदौ २०८२, बिहीबार
  • काठमाडौं
Paschim Raibar

भिजिट भिसा सेटिङ प्रकरणमा मुछिएका तिवारी म्याग्दीको सीडीओ


काठमाडौँ : भिजिट भिसा सेटिङ प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकका निजी सचिव बद्री तिवारीलाई म्याग्दीको प्रमुख जिल्ला अधिकारी (सीडीओ) बनाइएको छ।

गृह मन्त्रालयले बुधबार गरेको सीडीओ हेरफेरमा उपसचिव तिवारीलाई म्याग्दी पठाइएको हो।

गृह मन्त्रालयकै सेटिङमा भिजिट भिसामा विदेश पठाउँदै विमानस्थलमा दैनिक ५० लाखसम्म असुली हुने गरेको गम्भीर आरोप छ।

त्यसमा उनी पनि मुछिएका छन्।

सो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान अघि बढाइरहेको छ।

तर, कारबाहीको प्रक्रिया टार्न मन्त्रालयले उनलाई म्याग्दी सीडीओ बनाएर पठाएको स्रोत बताउँछ।

भिजिट भिसा प्रकरणकै कारण संसदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निरन्तर विरोध गर्दै आएका छन्।

उपसचिव तिवारी विवादित कर्मचारी हुन्।

उपसचिव तिवारीले निजामती सेवामा प्रवेश गरेको केही बर्षमै नियामक निकायका रुपमा रहेको सहकारी डिभिजन ललितपुरको प्रमुख हुँदा लाखौं घुस खाएर मनपरी सहकारी दर्ता गर्ने र कार्यक्षेत्र बढाएका कारण धेरै सहकारी बचतकर्ताको अर्बौँ बचत डुबेको आरोप लाग्दै आएको छ।

निजामती सेवामा प्रवेशपछि सधैं आकर्षक स्थानमा सरुवा हुने भाग्यमानीमा पर्दछन् तिवारी।

२०६४–०६५ मा बैदेशिक रोजगार बिभागमा कार्यरत तिवारी त्यसपछि सहकारी डिभिजन कार्यालय ललितपुरको प्रमुखमा सरुवा भएका थिए।

ललितपुरको सहकारी डिभिजन प्रमुख भएको समयमा उनले गरेका निर्णयले गर्दा नै धेरै सहकारी अहिले समस्याग्रस्त भएका छन्।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode