डडेल्धुराको खिट्केश्वरका हेडसरले भवनको ठेक्का दिएका भाइ युरोप टाप

डडेल्धुरा– डडेल्धुराको भागेश्वर गाउँपालिका–१, दुनालेखस्थित खिट्केश्वर प्राथमिक विद्यालयको भवन निर्माणमा अनियमितता भएको खुलासा भएको छ ।
पाँच कक्षासम्म अध्यापन हुने सो विद्यालयको एक तल्ले भवन निर्माणका लागि आर्थिक वर्ष २०८०/८१ मा सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले २१ लाख रूपैयाँ विनियोजन गरेको थियो ।
तर, विद्यालयका प्रधानाध्यापक जयबहादुर थापामगरले मिलेमतोमा उपभोक्ता समितिमार्फत आफ्नै भाइ वीरबहादुरलाई ठेक्का दिएका थिए ।
दुई कोठे भवनको निर्माण कार्य १८ लाख रूपैयाँमा दिने सहमति गरिएको स्रोतले जनाएको छ । एक लाख रूपैयाँ व्यक्तिगत उपयोगका लागि छुट्याइएको र दुई लाख गाडी भाडा तथा अन्य खर्चका नाममा राखिएको बताइएको छ । तर, दुई वर्ष बितिसक्दा पनि निर्माण कार्य सम्पन्न भएको छैन ।
हालसम्म जग हाल्ने र पिलर ठड्याउने काम मात्र भएको छ । गारो लगाउने काम शुरु भए पनि अधुरो छोडिएको छ । निर्माण सामग्रीहरू खुलेआम थुपारिएको अवस्थामा छन् । जिम्मा पाएका व्यक्ति निर्माण अधूरो छोडेर युरोपतिर पुगेका छन् ।
स्रोतका अनुसार सामाजिक विकास कार्यालय डडेल्धुराले दुई किस्ताको भुक्तानी गरिसकेको छ भने तेस्रो किस्ता रोकेको छ । पारिश्रमिक नपाउँदा झण्डै डेढ दर्जन मजदुरहरू बिचल्लीमा परेका छन् । ती सबै मजदुरहरू स्थानीय हुन् ।
वडाध्यक्ष मणिकराज भट्टका अनुसार भवनको आधा पनि काम सम्पन्न भएको छैन । यसले गर्दा विद्यार्थीहरू कष्टकर अवस्थामा पढ्न बाध्य छन् । विद्यालय निकै विकट क्षेत्रमा पर्दछ र हालसम्म आफ्नै भवन छैन ।
दुई कोठे अस्थायी संरचनामा २७ जना विद्यार्थी पढिरहेका छन् । अघिल्लो वर्ष ३३ जना विद्यार्थी थिए भने ६ जना बाध्यतावश अन्य विद्यालयमा भर्ना भएका छन् ।
विद्यालयमा हाल दुई शिक्षक र एक कार्यालय सहयोगी रहेका छन् । भवन अभावका कारण बालविकास कक्षा समेत सञ्चालन गर्न नसकिएको प्रधानाध्यापकले बताएका छन् ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम, स्वास्थ्य-शिक्षा
प्रतिक्रिया