धनगढीमा आफ्नै मामा र भाईद्धारा युवकको क्रुर हत्या, एयरफोन चोरेको आरोप थियो

धनगढी– धनगढीमा भएको एउटा सामान्य झगडाले यस्तो रुप लिन्छ भन्ने कसैले कल्पना नै गर्न सक्दैन् । दाईले एयरफोन लग्दा आफ्नै भाई र आफ्नै भान्जाले यस्तो क्रुर डगंले डरलाग्दो सजाय दियो भन्ने सायदै पत्यार पनि लाग्दैन होला । तर, यो सत्य हो ।
धनगढी उपमहानगरपालिका–१४ मा ३५ वर्षीय गणेश गिरीको मृत्यु केवल एउटा घटनाको निष्कर्ष थिएन । त्यो थियो पारिवारिक सम्बन्धको भित्रै कतै सड्न थालेको संकेत । जहाँ सानो मतभेदले पनि घातक रूप लिन्छ ।
एयरफोन चोरीको निहुँमा सुरु भएको विवाद, ज्यान जाने मोडमा पुग्छ र अन्त्य हुन्छ आफ्नै घरभित्र, आफ्नै आफन्तकै हातबाट हत्या भएर ।
मृतक गिरीमाथि उनका भान्जा १८ वर्षीय प्रदीप बोहराले ‘एयरफोन चोरी गरेको’ आरोप लगाए । एउटै घरमा बस्ने, एक अर्कासँग हाँसोठट्टा गर्ने सम्बन्ध एकाएक क्रोध र हिंसामा बदलिएपछि प्रदीपले आफ्नै मामामाथि हात उठाए ।
ती हातले केवल चोट दिएन, जीवन नै लियो । दुई दिनपछि गणेशको मृत्यु भयो । परिवारले ‘परम्परागत’ अन्त्येष्टि भन्दै शव खाल्डोमा गाड्यो । तर वास्तविकता अर्कै थियो ।
शव गाडिएको खबर बाहिरिएपछि प्रहरी सक्रिय भयो । उत्खनन् गरियो, र त्यो खाल्डोबाट बाहिर ल्याइएको शवले केवल एउटा लाश मात्रै होइन्, पुरिएको सत्य पनि ल्यायो ।
गणेशको सहोदर भाइ पदम गिरी समेत घटनामा संलग्न भएको खुल्यो ।
गणेशका भाई ३३ वर्षीय पदम गिरी र १८ वर्षीय भान्जा प्रदीप बोहरालाई हत्या अभियोगमा जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको छ ।
कुटपिटबाट घाइते भएका गणेश गिरीको ३० असारमा मृत्यु भएको
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले बताए ।
मृतकका परिवारले परम्पराअनुसार उनको शव खाल्डोमा गाडेर अन्त्येष्टि गरेका थिए ।
कुटपिट गर्ने बोहरा र घटनामा मतियारको भूमिका खेलेको भन्दै मृतककै सहोदर भाईलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
मृतकको शव परीक्षणपछि परिवारको जिम्मा लगाइएको छ।
पक्राउ परेकाहरुमाथि अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
के अब पारिवारीक सम्बन्ध सुरक्षित छन?
यो घटना धनगढीको मात्रै होइन, हाम्रा घर, परिवार र समाजभित्र लुकेको हिंसाको नमूना हो ।
जब सानो आरोप, सानो झगडा, र थोरै घृणाले एक व्यक्तिको जीवन नै समाप्त गर्छ, तब हामी प्रश्न गर्न थाल्छौँ, के सम्बन्ध अब सुरक्षित छन? के घर अब शान्ति र भरोसाको केन्द्र रहन सकेको छ?
धेरैलाई लाग्न सक्छ, यो त एउटा सामान्य हत्या हो । तर यो हत्या सामान्य होइन् । यो ‘परिवारको’ हत्या हो, ‘भरोसा’ को हत्या हो, अनि ‘संवेदनशीलता’ को पनि ।
समाजमा बारम्बार दोहोरिँदै गएको यही क्रूरता र असहिष्णुता आजको सबैभन्दा ठूलो खतरा हो ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया