कैलाली कारागारमा लफडा : नाइकेमाथि कुटपिट, जेलरविरुद्ध नाराबाजी

धनगढी : जिल्ला कारागार कैलालीमा शनिबार दिउँसो कैदीबन्दीहरूबीच झडप हुँदा कारागारका नाइके खगेन्द्र बोगटी गम्भीर घाइते भएका छन्।
कारागार प्रशासनका अनुसार भूपेन्द्र बडुवाल हत्या प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका कैदी कपिल श्रेष्ठ नेतृत्वको समूहले बोगटीमाथि कुटपिट गरेको हो।
कुटपिटबाट नाक र मुखमा चोट लागेका बोगटीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
घटनापछि प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल र प्रहरी उपरीक्षक बाल नरसिंह राणा कारागार पुगेका थिए। सुरक्षास्थितिबारे जानकारी लिँदै उनीहरूले कैदीहरूसँग संवाद गरेका थिए।
एसपी राणाले कैदीहरूबीच सामान्य विवाद भएको भन्दै अहिले अवस्था नियन्त्रणमा रहेको बताएका छन्।
बिहीबार प्रमुख जिल्ला अधिकारी हमालको निरीक्षणका क्रममा ब्लक ‘ए’ मा मोबाइल फेला परेपछि त्यहाँका सात जना कैदीलाई ब्लक ‘बी’ मा सारिएको थियो।
यही सरुवालाई लिएर कैदीहरूबीच मनमुटाव चुलिएको हो।
नाइके बोगटीले आफू जेलरको मान्छे भएको भन्दै रवाफ देखाएको आरोप लगाउँदै श्रेष्ठ समूह आक्रोशित बनेको र त्यसले झडप चर्किएको बताइएको छ।
यद्यपि, प्रहरीले भने धकलाधकेल हुँदा चोट लागेको दाबी गरेको छ।
कैदीहरूले जेलर बसन्त खत्रीविरुद्ध एसपी र सिडिओकै अगाडि नाराबाजी गर्दै जेलभित्र मनोमानी बन्द गर भन्ने माग गरेका छन्।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया