युवाहरूलाई प्रधानमन्त्रीको सल्लाह : २० वर्षमा बिहे गरेर ३० मा सन्तान जन्माईसक्नू

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले २० वर्ष उमेर पुगेपछि विवाह गरेर सन्तान जन्माउनमा युवाहरुलाई प्रेरित गर्न जरुरी रहेको बताउनुभएको छ ।
प्रजनन क्षमता बढी भएको बेलामा नै सन्तान जन्माउन राम्रो हुने उहाँको ठहर छ । आर्थिक विकास र समृद्धिसँगसँगै जनसङ्ख्याको समान विकास नभए मानव अस्तित्व खतरामा पर्ने भएकाले समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्नुपर्नेमा प्रम ओलीले जोड दिनुभयो ।
चाँडै सन्तान जन्माउँदा हुने फाइदाबारे बताउँदै भन्नुभयो, ‘ठूलो त हुर्किसक्छ नि कान्छो हुँदासम्म । कान्छी छोरी हुँदासम्म त जेठी छोरी हुर्किसकेकी हुन्छे ।’
विश्व जनसङ्ख्या दिवसका अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित राष्ट्रिय जनसङ्ख्या नीति, २०८२ सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले विकास र जनसङ्ख्याको गति सँगै हुनुपर्नेमा जोड दिँदै हरेकले आफ्नो सन्तान वृत्तिलाई धर्तीका लागि उत्तरदायित्वका रूपमा लिनुपर्ने धारणा राख्नुभयो ।
‘मानिस भएकाले हरेक देशको अर्थ छ, धर्तीको अर्थ छ । जनसङ्ख्या हुँदैनथ्यो भने देश हुँदैन । हामीले मानव जातिको अस्तित्व र सुखपूर्ण अस्तित्व रक्षाका लागि उपयुक्त नीति र कदमहरू चाल्नुपर्छ’, प्रम भन्नुहुन्छ, ‘सृष्टिको सृजनाका लागि मानव जाति जति मूल्यवान अर्को छैन । कृपया आफ्नो स्वार्थका लागि मान्छे मार्नेहरू यो धन्दा छोड ।’
प्रधानमन्त्री ओलीले सरकारले २० वर्षपछि विवाह गर्न कानुनी प्रबन्ध गरेकाले समयमा विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न र चालीस कटेपछि रमाउला भन्ने गीतमा नअल्झन आग्रह गर्नुभयो ।
‘हाम्रा युवाहरु के गीत गाउँछन् भने चालीस कटेसी रमाउँला ! अनि ४० कटेपछि रमाएर… महिलाहरुको प्रजनन उमेर ४० कटेपछि अत्यन्तै न्यून हुन्छ । प्रायः हुँदैन । अनि ४० कटेसी समाउँला भनेर हुन्छ ? त्यसकारण २० पछि बिहे गर, सन्तान जन्माऊ, यसमा प्रेरित गर्नुपर्छ युवाहरुलाई’, उहाँ भन्नुहुन्छ ।
क्याटेगोरी : राजनीति, समाचार
प्रतिक्रिया