Hikmat Acharya
  • २८ असार २०८२, शनिबार
  • काठमाडौं
Paschim Raibar

दार्चुलामा जीवितलाई मृत घोषणा गरी कृषि अनुदान हडप्ने प्रयास, मेयरका छोराको हात


दार्चुला : दार्चुलाको शैल्यशिखर नगरपालिका- ६ मा ‘मालिकार्जुन अगुवा कृषक समूह’ छ । समूहका अध्यक्ष हुन्, शैल्यशिखर नगरपालिकाका मेयर विजयसिंह धामीका कान्छा छोरा जनकसिंह धामी ।

वडागत कृषि कार्यक्रमअन्तर्गत उक्त समूहका लागि नगरपालिकाबाट दुई लाख ४० हजार बजेट विनियोजन गरिएको थियो ।

वडाध्यक्ष जगदिश धामीका अनुसार ओखरको बोट खरिद गर्दै कृषकलाई वितरण गर्न उक्त रकम मालिकार्जुन अगुवा कृषक समूहका लागि विनियोजन गरिएको थियो ।

‘बोट खरिदपछि समूहमा विवाद आएको रहेछ,’ वडाध्यक्ष धामीले भने, ‘विवादपछि समूहका कोषाध्यक्ष जानकी धामी र सचिव मञ्जु धामी रकम भुक्तानीका लागि चेकमा हस्ताक्षर गर्न तयार भएका थिएनन् ।’

रकम भुक्तानी नभएपछि समूहका अध्यक्ष जनकसिंह धामी र शैल्यशिखर नगरपालिकाका कृषि शाखा प्रमुख दीपकराज विष्टको मिलोमतोमा कोषाध्यक्ष जानकी र सचिव मञ्जुलाई मृत घोषणा गरेको फेला परेको छ ।

कृषि शाखा प्रमुख विष्टले ग्लोबल आइएमई बैंक गोकुलेश्वर दार्चुलालाई खाता नवीकरणका लागि पत्र लेख्दै भनेका छन्, ‘समूहका कोषाध्यक्ष जानकी धामी र सचिव मञ्जु धामीको मृत्यु भइसकेको हुँदा अब समूहको खाता सञ्चालनका लागि अध्यक्ष जनकसिंह धामी र सचिव बसन्ती बोहराको हस्ताक्षरबाट सञ्चालन हुने गरी सो खातालाई नवीकरण गरिदिन हुन सिफारिसका साथै अनुरोध गरिन्छ ।’

बैंकले उक्त नवीकरणको पत्र पाएपछि सचिव र कोषाध्यक्षलाई सम्पर्क गर्दा दुवै जना जीवितै रहेको खुलेको हो।

‘ग्लोबल आइएमई बैंक गोकुलेश्वर शाखाका कर्मचारीसँग मेरो चिनजान थियो,’ सचिव मञ्जुले भनिन्, ‘तपाईंको मृत्यु भइसकेको भन्दै नगरपालिकाले बनाएको कागज बैंकमा आएको छ भनेर बैंकबाट मलाई फोन आएको थियो । आफ्नै मृत्यु प्रमाणितको कागज देख्दा अचम्म लागेको छ ।’

सचिव मञ्जुका अनुसार अध्यक्ष जनकसिंह धामीले एक्लै बजेट चलाउन खोजेको आरोप लगाइन् । ‘बजेट आएको विषयमा पनि हामीलाई जानकारी दिइएको थिएन,’ उनले भनिन् ।

यता मेयरका छोरासमेत रहेका समूहका अध्यक्ष धामीले रिसको झोँकमा मृत्यु प्रमाणित गर्न लगाएको बताए ।

‘सचिव र कोषाध्यक्षले हस्ताक्षर गर्न मान्नु भएन,’ उनले भने, ‘बजेट फ्रिज हुने देखेपछि रिसको झोँकले कृषि शाखामार्फत मृत्यु प्रमाणित गरिएको हो । यसमा कृषि शाखाको पनि कुनै कमजोरी छैन ।’


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode