पोषण झोला गुणस्तर परीक्षणको प्रतिवेदन तीन दिनभित्र पेस गर्न निर्देशन

धनगढी : सुदूरपश्चिम प्रदेशसभाको सामाजिक विकास समितिले पोषण झोलामा प्रयोग गरिएका खाद्य सामग्रीको गुणस्तर प्रमाणीकरण प्रतिवेदन तीन दिनभित्र समितिमा पेस गर्न निर्देशन दिएको छ।
पोषण झोलाको सामग्री गुणस्तरहीन रहेको विषयमा सार्वजनिक रूपमा चर्चा भएपछि समितिले तत्काल प्रतिवेदन माग गरेको हो।
केही दिनअघि बाजुरामा कुपोषणका कारण एक बालकको मृत्यु भएको र पोषण झोला गुणस्तरहीन रहेको विषय बाहिर आएपछि यो विषयले थप चासो पाएको थियो।
समितिका सभापति धर्मराज पाठकका अनुसार पोषण झोलाको सामग्रीको गुणस्तर परीक्षण गरिएको र त्यसको नतिजा प्रतिवेदनको रूपमा तीन दिनभित्र बुझाउन निर्देशन दिइएको हो।
यस सन्दर्भमा समितिले सामाजिक विकास मन्त्रालयका सचिव डा. हेमराज रेग्मी र प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त निर्देशक झनक ढुङ्गानालाई समितिमा उपस्थित गराएर स्पष्टीकरण लिएको थियो।
बैठकमा निर्देशक ढुङ्गानाले पोषण झोला वितरणअघि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट गुणस्तर प्रमाणीकरण गरिने जानकारी दिए।
साथै, चालु आर्थिक वर्षको बजेट ढिलाइ र लेखा समिति अन्तर्गतका कर्मचारीको आन्दोलनका कारण पोषण झोला खरिदमा ढिलाइ भएको उल्लेख गरे।
उनले प्रदेश तथा स्थानीय तहका स्वास्थ्य संस्थामा पोषणयुक्त तयारी खानाको अभाव नरहेको तर स्वास्थ्य संस्थासम्म पहुँच नपुगेका कारण बालकको मृत्यु भएको हुनसक्ने जनाए।
‘कुपोषित बालबालिकाको पहिचान गर्न नसक्नु हाम्रो पनि कमजोरी हो,’ उनले भने, ‘अब यस्तो कमजोरी नहोस् भनेर विशेष ध्यान दिइन्छ।’
यो पनि :
पोषण झोला फलोअप : खरिद प्रक्रियाका कागजपत्र ५ दिनभित्र पेश गर्न सामािजक समितिको निर्देशन
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया