बाजुराको गौमुलमा छात्रवृत्ति र लोकसेवा कक्षा सुरु
बाजुरा: ग्रामीण तहमै युवाहरूको क्षमता विकास र रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यले गौमुल गाउँपालिकाले अभिनव पहल थालेको छ। गाउँपालिकाले शिक्षामा लगानी गर्दै ‘गौमुलः छात्रवृत्ति र लोकसेवा कक्षा’ सुरु गर्न लागेको हो।
पालिकाले बाजुरा क्याम्पसमा अध्ययनरत आफ्ना क्षेत्रका विद्यार्थीलाई लक्षित गर्दै छात्रवृत्ति वितरण र लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ।
आर्थिक वर्ष २०८२र८३ का नीति तथा कार्यक्रमअनुसार कार्यान्वयनमा ल्याउन लागिएको यो कार्यक्रम विशेषगरी कमजोर आर्थिक अवस्था भएका, शैक्षिक रुपमा उत्कृष्टता हासिल गरेका तथा पालिकासँग स्थायी बसोवास भएका विद्यार्थीहरूलाई लक्षित गरिएको हो।
गाउँपालिका अध्यक्ष हरी बहादुर रोकाया गौमुलका युवाहरू उच्च शिक्षामा सशक्त ढङ्गले प्रतिस्पर्धा गर्न सकुन् भन्ने सोचका साथ यो कार्यक्रम अघि बढाइएको बताउँछन्।
लोकसेवा तयारी कक्षामा निजामती, शिक्षा, प्रहरी तथा स्वास्थ्य सेवाजस्ता विषयहरू समेटिने छन् । प्रारम्भिक चरणमा बाजुरा क्याम्पसमा अध्ययनरत गौमुल क्षेत्रका विद्यार्थीहरूलाई समेटिने जनाइएको छ ।
छात्रवृत्तिअन्तर्गत छनोट भएका विद्यार्थीलाई वार्षिक रुपमा शैक्षिक शुल्क, पुस्तक, कपी तथा अन्य शैक्षिक सामग्रीका लागि आवश्यक आर्थिक सहयोग उपलब्ध गराइनेछ ।
गाउँपालिकाका उपाध्यक्ष सिता थापाले यो कार्यक्रम गाउँबाहिर अध्ययनरत युवाहरूको आत्मविश्वास वृद्धि, क्षमता विस्तार तथा प्रतियोगी परीक्षामा सफलता प्राप्तिका लागि कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरिन्।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम










प्रतिक्रिया