सुदूरपश्चिमका विभिन्न चौकीका इन्चार्ज फेरिए, सई साउदको चौखुट्टे मोह

धनगढी : सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले १४६ जना प्रहरी सहायक निरीक्षक (असई) को सरुवा गरेको छ।
प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी डम्बरबहादुर विकले साउन महिनाको तलब, भत्ता हाल सरुवा भएको दरबन्दीबाट खानपाउने गरी उनीहरूको सरुवा गरेका हुन्।
प्रहरी स्रोतका अनुसार कार्यक्षमता, आवश्यकतासहितको समायोजन गर्नुपर्ने भएकाले सरुवा गरिएको हो।
सरुवा भएका कर्मचारीहरू ९ वटै जिल्लाका विभिन्न प्रहरी चौकीमा कार्यरत थिए।
डीआईजी विकले सरुवाको सूचना सबै सम्बन्धित तथा तालुक कार्यालयमा पठाउँदै अभिलेख अद्यावधिक गरी आवश्यक कार्यान्वयन गर्न अनुरोध गरेका छन्।
तर अछामको सिमावर्ती प्रहरी चौकी चौखुट्टेमा भने लामो समयदेखि एउटै व्यक्तिले नेतृत्व सम्हालिरहेको छ।
प्रहरी नायब निरीक्षक (सई) पदमसिंह साउद दुई वर्षदेखि सोही चौकीमा इन्चार्जको जिम्मेवारीमा छन्।
गत मंसिरमा असईबाट सईमा बढुवा भएका साउदलाई प्रहरी प्रधान कार्यालयले रौतहटको इलाका प्रहरी कार्यालय सन्तपुर लक्ष्मिनिया पदस्थापन गरेको थियो।
तर, सरुवा भएको आठ महिना बितिसक्दासमेत उनी काज मिलाएर चौखुट्टेमै कार्यरत छन्।
उनसँगै वरिष्ठ हवल्दार नरबहादुर खड्काको पनि लामो समयदेखि सोही चौकीमा बसाई छ।
यस कारण चौखुट्टेमा अनुशासनहीनता र सेवा प्रवाहमा बेथिति देखिएको स्थानीयको गुनासो छ।
डोटी र अछामको सिमानामा पर्ने चौखुट्टे चौकी नजिकैका सवारी चालक तथा स्थानीय बासिन्दाले प्रहरीबाट बारम्बार दु:ख पाएको अनुभव सुनाउने गरेका छन्।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया