Hikmat Acharya
  • ५ असार २०८२, बिहीबार
  • काठमाडौं
Paschim Raibar

धनगढी कारागारमा पाली मृत्यु प्रकरण : छानबिनका लागि सात सदस्यीय समिति गठन


धनगढी : कैलालीको धनगढीस्थित कारागारमा एक कैदीको रहस्यमय मृत्यु प्रकरणले गम्भीर मोड लिएको छ ।

घटनाको सत्यतथ्य पत्ता लगाउन जिल्ला प्रशासन कार्यालय कैलाली सात सदस्यीय छानविन समिति गठन गरेको छ।

कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा गठन गरिएको समितिमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार सिंह, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी, राष्ट्रिय अनुसन्धान विभागका प्रहरी नायब निरीक्षक सुरेश बोहरा, सहायक हवल्दार नरेश साउँद, र डडेल्धुरा वाणिज्य संघका पूर्व अध्यक्ष लोकराज भट्ट सदस्य छन् ।

डडेल्धुराको भागेश्वर गाउँपालिका–५ निवासी २८ वर्षीय हरिश पालीलाई बैङ्किङ कसुर अभियोगमा असार १ गते पक्राउ गरिएको थियो।

असार २ गते राति कारागारको बाथरुम नजिक अचेत अवस्थामा फेला परेका उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो। तर, उपचारको क्रममा उनको मृत्यु भएको जनाइएको छ।

मृतक पालीको शरीरभरि चोटपटक र निलडाम देखिएको भन्दै उनको परिवारले हत्या गरिएको आशंका व्यक्त गरेका छन् । मृतककी श्रीमती जानकी साउँदले घटनालाई योजनाबद्ध हत्या भएको दाबी गरेकी छन् ।

प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले समितिलाई सात दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएका छन् ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode