कैलालीमा ‘तँ’ भनेको निहुँमा पोसाकमै नरहेका सईले महिलामाथि हातपात गरेपछि…

धनगढी : कैलालीको टीकापुरमा प्रहरी सई यज्ञराज पन्तले ‘तँ’ भनेर सम्बोधन गरेको निहुँमा एक महिलामाथि कुटपिट गरेका छन्।
टीकापुर–७ मा स्कुटी रोकिरहेकी राजकुमारी कुँवर शाहलाई शुक्रबार अपराह्न प्रहरीले हातपात गरेको भिडियो सार्वजनिक भएको छ।
प्रहरी हवल्दार सुरेन्द्र बोहरासँग सामान्य भनाभन भएको केही समयमै सई पन्तले प्रहरी पोसाकमै नरही शाहमाथि हातपात गरेका हुन्।
प्रहरीले उनलाई जबरजस्ती नियन्त्रणमा समेत लिएको देखिन्छ। घटनापछि दुबै पक्षबीच राति छलफल भए पनि पीडित महिला दोषीमाथि कारबाहीको मागमा अडिग छिन्।
कैलाली प्रहरी प्रमुख एसपी बालनरसिंह राणाले दोषी देखिएका सई पन्त र हवल्दार बोहरालाई जिल्ला प्रहरी कार्यालयमा बोलाई छानबिन प्रक्रिया सुरु गरिएको जानकारी दिएका छन्।
उनले भने, “भिडियो हेर्दा प्रहरीको गल्ती देखिएको छ, विभागीय कारबाही प्रक्रिया अघि बढाइन्छ।”
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया