गृहमन्त्रीसँग जोडिएको भिजिट भिसा प्रकरणमा अनुसन्धान गरिरहेका डिआइजी श्रेष्ठको सरुवा

काठमाडौं : गृहमन्त्री रमेश लेखकको सचिवालयसँग जोडिएको भनिएको भिजिट भिसा प्रकरणमा अनुसन्धान गरिरहेका प्रहरी नायब महानिरीक्षक (डिआइजी) हिमालयकुमार श्रेष्ठको अचानक सरुवा गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीमा संलग्न श्रेष्ठलाई गृह मन्त्रालयले उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरेको हो।
श्रेष्ठको स्थानमा डिआइजी ओमबहादुर रानालाई पठाइएको छ। मन्त्रालयले बुधबार ११ जना डिआइजीहरूको पदस्थापन गर्दा श्रेष्ठको नाम हटाइएको थियो।
श्रेष्ठ नेपाल प्रहरीभित्र अनुभवी र सक्षम अनुसन्धान अधिकृतका रूपमा चिनिन्छन्। गम्भीर अनुसन्धानको मोडमा पुगेको बेला भएको सरुवाले प्रश्न उठाएको छ।
गृह मन्त्रालय स्रोतका अनुसार श्रेष्ठले अनुसन्धानका क्रममा उच्च तहसम्मको संलग्नता देखिएको संकेत गरेका थिए, त्यसपछि उनको सरुवा गरिएको हुनसक्ने भनिएको छ। डिआइजी श्रेष्ठले भने सरुवाले अनुसन्धान प्रभावित नहुने प्रतिक्रिया दिएका छन्।
‘सरुवा भएँ, तर अनुसन्धान अघि बढ्छ,’ उनले भने।
यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि उच्च राजनीतिक हस्तीको नाम आउन थालेपछि अनुसन्धान अधिकृतहरू हटाइएका थिए।
पुनः त्यस्तै ढंगले अनुसन्धानकर्ताको सरुवा भएको भन्दै यो घटनाले निष्पक्ष अनुसन्धानप्रति आशंका पैदा गराएको छ।
क्याटेगोरी : राष्ट्रिय, समाचार
प्रतिक्रिया