पुन: पहाडी जिल्लाको दाैडधुपमा सुदूरपश्चिमका डीआईजी बिक

धनगढी : सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख तथा डीआईजी डम्बरबहादुर बिक विगत एक महिनादेखि प्रहरी संगठनभित्र सुधार ल्याउने उद्देश्यले पहाडी जिल्लाहरूको लगातार निरीक्षणमा छन्।
संगठनको अनुशासन र जनमैत्री सेवालाई केन्द्रमा राख्दै उनले प्रहरीभित्र व्यवहारगत परिवर्तन ल्याउने अभियान चलाएका छन्।
बझाङको निरीक्षणका क्रममा उनले प्रहरी परिसरका भौतिक संरचनादेखि जनशक्ति व्यवस्थापन, हिरासतको अवस्था, जनसंग सम्बन्ध र प्रशासनिक प्रक्रियासम्मको गहिरो समीक्षा गरे।
यसरी कार्यालयको ‘आउटर लुक’ मात्र होइन, प्रहरी सेवाको ‘इनर भ्यालु’ सुधारमा उनको ध्यान केन्द्रीत देखिन्छ।
डिआइजी बिकले मातहत इकाइ प्रमुखहरूलाई केवल औपचारिक निर्देशन मात्र दिएनन्, बरु “जनता डराउने होइन, भरोसा गर्ने प्रहरी चाहिन्छ” भन्ने सन्देश दिन खोजे।
प्रहरी सेवामा अनुशासन र जवाफदेहितालाई उनले सुधारको आधार मान्दै संगठनको छविमा विश्वास निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए।
यसअघि डोटी, डडेल्धुरा, अछाम र बाजुरा जस्ता दुर्गम जिल्ला निरीक्षण गरिसकेका बिकले तराईका कैलाली र कञ्चनपुरमा समेत सुधारको खाका कोरेका थिए।
अब बाँकी रहेका बैतडी र दार्चुलाको निरीक्षणपछि उनको सुधार यात्रा अझ पूर्णतामा पुग्ने अपेक्षा गरिएको छ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया