सुदूरपश्चिममा पोषण झोला योजनामा सेटिङ, १५ करोड रकम कुम्ल्याउने खेल

धनगढी : लक्षित वर्गका बालबालिकालाई पौष्टिक आहार प्रदान गर्ने उद्देश्यले ल्याइएको पोषण झोला योजनामा समेत बदनियत देखिएको छ।
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, धनगढीले यसमा अनियमितता र पूर्वनियोजित मिलेमतोले योजना बनाएको खुलेको हो।
स्रोत अनुसार, करिब १५ करोड रुपैयाँ बराबरको ठेक्कामा ५/६ करोड मात्र पोषण झोलाको वास्तविक वितरणमा खर्च हुने अनुमान छ।
बाँकी रकम आपूर्ति केन्द्रका कर्मचारीले मिलेमतो र सेटिङमार्फत कुम्ल्याउन खोजेको प्रष्ट हुन्छ।
लक्षित वर्गलाई निःशुल्क वितरण गर्ने उद्देश्यले पोषण झोला(सप्लिमेन्टरी न्यूट्रिसन फूड)को टेण्डर आह्वान गर्दा बदनियतपूर्ण ढंगले निश्चित व्यापारिक घरानाले पाउने गरी गडबडी गरेको देखिएको हो।
केन्द्रले १८ चैत २०८१ र ४ वैशाख २०८२ मा एउटै व्यापारिक समूहलाई पोषण झोलाको ठेक्का दिने बदनियतसहित बोलपत्र आह्वान गरेको देखिएको छ।
एउटै वस्तु खरीदका लागि १५ दिनको फरकमा अलग अलग बोलपत्र आह्वान गरिएको र त्यसरी बोलपत्र आह्वान गर्दा राखिएका शर्त तथा टेण्डरमा सहभागी हुनसक्ने उद्योगको योग्यताका विषयका बुँदाहरुमा समेत षड्यन्त्र गरिएको स्रोतको भनाइ छ।
यो क्रममा केन्द्रले पूर्वयोजनाअनुसार नै निश्चित व्यापारिक घरानाभन्दा बाहिरबाट आएका बोलपत्रहरुलाई बिनाआधार र कारण अयोग्य करार गरिदिएपछि केही समूह अदालत जाने तयारीमा रहेका समेत बुझिएको छ।
सार्वजनिक खरीद ऐन २०६३ को दफा ४७(१) अनुसार प्रक्रिया पारदर्शी र निष्पक्ष हुनुपर्नेमा केन्द्रले त्यसको अवहेलना गरेको आरोप लागेको छ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया