‘जिउँदाको जन्ती, मर्दाको मलामी’ : धमालिका वडाध्यक्ष निरकका सेवामुखी काम
 
	
				
			अछाम । बजेट अभाव र सीमित स्रोतबीच पनि अछामको तुर्माखाँद गाउँपालिका–८ धमालीका वडा अध्यक्ष निरक बहादुर शाहीले वडालाई नमुना बनाउने अभियान अन्तर्गत उल्लेखनीय कार्यहरू गर्दै आएका छन्।
अन्य वडाका वडा अध्यक्ष लगायतका जनप्रतिनिधिहरूले आर्थिक अभावमा काम गर्न नसकि सहयोग नपाएको गुनासो गरिरहेका बेला शाहीले वडामा विभिन्न लोकप्रिय कार्यक्रम सञ्चालन गरेका छन्।
“जिउँदाको जन्ती, मर्दाको मलामी” भन्ने उखानलाई उनले आफ्ना कामबाट चरितार्थ गर्दै आएका छन्।
वडामा कोही नागरिकको निधन भएमा शव तथा दाउरा घाटसम्म पुर्याउनका लागि वडा सरकारबाट निशुल्क ट्याक्टर सेवा उपलब्ध गराइएको छ। यसले विशेषगरी विपन्न वर्गलाई ठूलो राहत मिलाएको छ।
वडाका विभिन्न आन्तरिक सडकहरूको नियमित मर्मतका लागि वडा सरकारकै तर्फबाट सडक सरसफाइ कर्मचारीको व्यवस्था गरिएको छ। साथै, आकस्मिक स्वास्थ्य सेवाका लागि वडामा सञ्चालित एम्बुलेन्स सेवा प्रभावकारी बन्दै गएको छ।
शाहीको नेतृत्वमा वडामा एक घर एक धारा अभियान, खुला सिँचाइ योजना, राष्ट्रिय प्रसारण लाइन विस्तार, नमुना बगैचा, सिँचाइ पोखरी, र प्राविधिक शिक्षामा छात्रवृत्ति कार्यक्रम जस्ता योजनाहरू सञ्चालनमा छन्। साथै, जेष्ठ नागरिकको सम्मान र स्वास्थ्य जाँचका लागि नियमित भेटघाट कार्यक्रम आयोजना हुँदै आएको छ।
कृषकलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित वडा सरकारको लगानीमा कुटानी,पिसानी र पेलानी मिल सञ्चालनमा ल्याइएको छ ।
दूध तथा दुग्धजन्य पदार्थको उत्पादनमा वृद्धि गरि आत्मनिर्भर बनाउन र ब्याउने गाई–भैंसीलाई पोषणयुक्त पिँडो वितरण कार्यक्रम समेत सञ्चालनमा छ। यस्तै वडामा वडास्तरीय पुस्तकालय निर्माण कार्य पनि अघि बढाइएको छ।
स्थानीयवासीका अनुसार वडा अध्यक्ष शाहीका यस्ता कामहरूले गाउँमा जनतासँगको विश्वास बलियो बनाइदिएको छ। सीमित बजेट र स्रोतबीच पनि जनताको हितमा गरिएको सक्रियता वडाबासीका लागि उदाहरणीय बनेको छ ।
भिडिओ :-
क्याटेगोरी : पालिका, राजनीति, राष्ट्रिय, समाचार, सुदूरपश्चिम










 Follow Us on Facebook
 Follow Us on Facebook Follow Us on 𝕏
 Follow Us on 𝕏 Follow Us on TikTok
 Follow Us on TikTok Subscribe Us on YouTube
 Subscribe Us on YouTube
प्रतिक्रिया