कसरी हुन्छ पिनास ? यसका लक्षण, रोकथाम र उपचार
बदलिँदो मौसममा पिनास हुने सम्भावना बढी रहन्छ । पटकपटक रुघाखोकी लागिरहने मानिसमा पिनास हुने सम्भावना बढेर जान्छ । धुलो, धुवाँ, तथा एलर्जीका कारण नाकमा हुने संक्रमणले पनि पिनासको जोखिम बढाउँछ ।
नाकको हड्डी बांगो हुनु पनि पिनासको प्रमुख कारण हो। हड्डी बांगो हुँदा सिँगान वा फोहोर पदार्थ जमेर बस्छ, जसले श्वासप्रश्वासमा समस्या पैदा गर्छ र पिनास हुन्छ।
पिनासको प्रारम्भिक लक्षण नाक बन्द हुने, टाउको र अनुहारको छेउछाउमा दुख्नु हो । बिस्तारै पिनासको संक्रमण बढ्दै गएमा ज्वरो आउने, आँखाको तल्लो भाग र जिउ दुख्नेजस्ता लक्षण देखिन्छन् ।
पिनास भएमा बच्चामा पटकपटक रुघा लाग्ने र ज्वरो आउने हुन्छ । यसको उपचार समयमै नगरेमा नाकमा मासु पलाउने समस्या हुन सक्छ । बिस्तारै संक्रमण फैलँदै आँखामा पुगेमा पिप जम्ने तथा अन्य जटिल समस्या देखापर्न सक्छन्।
रोकथाम र उपचार
रुघाखोकी लागिरहेमा पिनास हुने भएकाले सकभर चिसोबाट बच्नुपर्छ। नाकमा हुने एलर्जीबाट जोगिनुपर्छ। भिटामिन सीयुक्त खानेकुरा र प्रशस्त पानी सेवन गरेमा पिनासबाट बच्न सकिन्छ।
धुवाँ–धुलोबाट जोगिनुपर्छ । नाकमा समस्या देखिनेबित्तिकै चिकित्सकको सल्लाह लिएमा पिनास हुनबाट बच्न सकिन्छ ।
सुरुवाती चरणमा एन्टिबायोटिक औषधिको प्रयोगबाट पिनासको उपचार गर्न सकिन्छ। त्यस्तै, नाक खुलाउन वा संक्रमण कम गर्न विभिन्न औषधिको प्रयोग गरिन्छ । त्यसैगरी, नियमित बाफ लिएर पनि पिनास कम गर्न सकिन्छ ।
पिनास बढ्दै गएमा आँखा र मस्तिष्कमा समस्या हुने भएकाले संक्रमण भएको ठाउँमा शल्यक्रियाबाट उपचार गर्न सकिन्छ।
(एजेन्सी)

थापा पश्चिम रैवारको डेस्क सम्पादक हुन् । उनी समसामयीक बिषयमा कलम चलाउछन् ।
क्याटेगोरी : राष्ट्रिय, रोचक, समाचार, सुदूरपश्चिम






प्रतिक्रिया