सिल–टाँचा नबुझाई बेपत्ता भए कैलालीका दुई डीएफओ, ठाकुर होटलमा बस्न बाध्य !
धनगढी : कैलालीको दुई डिभिजन वन अधिकृत (उपसचिव) लाई वन निर्देशनालयले स्पष्टीकरण सोधेको छ।
हाजिर भएरै सम्पर्कविहीन भएपछि वन अधिकृत कृष्णदत्त भट्ट र रामचन्द्र कँडेललाई स्पष्टीकरण सोधेको हो।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतका डिभिजनल वन अधिकृत (उपसचिव) भट्ट र कँडेललाई २४ घण्टाभित्र वन निर्देशनालयमा हाजिर हुन मन्त्रालयले निर्देशन दिएको थियो।
सोही निर्देशनअनुसार उनीहरू २६ गते बिहान ९ः४५ बजे कार्यालय पुगे पनि नियमित हाजिर रजिस्टरमा नाम नलेखी सादा सेतो कागजमा हाजिर जनाएर सम्पर्कविहीन बनेका हुन्।
प्रदेश वन निर्देशक हेमराज बिष्टका अनुसार जिम्मेवार पदाधिकारीले कार्यालय समयअगावै अनौपचारिक कागजमा हाजिर जनाई बिना जानकारी बेपत्ता हुनु गम्भीर प्रशासनिक लापरबाही हो।
यही कारण देखाउँदै निर्देशनालयले ‘कुन आधारमा हाजिर रजिस्टरमा नाम नलेखी सम्पर्कविहीन रहनुभयो ?’ भनी लिखित स्पष्टीकरण मागेको हो।
घटनाको असर प्रत्यक्ष रूपमा डिभिजन वन कार्यालय कैलालीमा देखिएको छ। सम्पर्कविहीन भएका उपसचिव कृष्णदत्त भट्टले कार्यालय छाड्दा सरकारी सिल–टाँचा, मोबाइललगायत सामग्री नबुझाएको पाइएको छ।
कार्यालय निवासको साँचोसमेत नदिँदा हाल कार्यरत डिभिजनल वन अधिकृत रामविचारी ठाकुर होटलमा बस्न बाध्य छन्।
उता भट्ट र कँडेलले भने भ्रमण आदेश स्वीकृत गराएर काठमाडौँ गएको दाबी गरेका छन्।
तर, मन्त्रालय र निर्देशनालयका अनुसार त्यसबारे समयमै आधिकारिक जानकारी नदिइएको जनाइएको छ।
मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले उपसचिव भट्टलाई पत्र लेख्दै कार्यालयका सम्पूर्ण सामग्री तत्काल बुझाउन निर्देशन दिएका छन्।
कृष्णदत्त भट्ट यसअघि डिभिजन वन कार्यालय कैलालीमा र रामचन्द्र कँडेल पहलमानपुरमा कार्यरत थिए।
सरकारको नीति निर्देशन विपरीत काम गरेको आरोपमा दुवै जनालाई मन्त्रालयले कारबाहीस्वरूप वन निर्देशनालयमा तानेको हो।
पछिल्लो समय वन मन्त्रालय मातहतका कर्मचारीहरू मनोमानी रूपमा काम गर्ने गुनासो बढ्दै गएको छ।

क्याटेगोरी : समाचार, सुदूरपश्चिम






प्रतिक्रिया