Techie IT
  • ३० मंसीर २०८२, सोमबार
  • काठमाडौं
Paschim Raibar

अख्तियारमा सुदूरपश्चिमका ९०६ भ्रष्टाचार उजुरी, अछामका मात्रै ९०


अख्तियारमा सुदूरपश्चिमका ९०६ भ्रष्टाचार उजुरी, अछामका मात्रै ९०

कञ्चनपुर : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा चालु आर्थिक वर्षको मङ्सिर दोस्रो सातासम्म नौ सयभन्दा बढी भ्रष्टाचारसम्बन्धी उजुरी दर्ता भएका छन्।

कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ मा मात्रै चार सय ४४ उजुरी दर्ता भएका छन् भने अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरी आएका चार सय ६२ उजुरीसमेत गरी जम्मा ९०६ उजुरी आयोगमा दर्ता छन्।

अख्तियार कार्यालय कञ्चनपुरका सूचना अधिकारी चेतराज भट्टका अनुसार दर्ता भएका उजुरीमध्ये शिक्षा क्षेत्रसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै छन्। चालु आवको मङ्सिर दोस्रो सातासम्म शिक्षासम्बन्धी एक सय ७४ उजुरी दर्ता भएका छन्।

विद्यालयको दिवा खाजा, शिक्षक सरुवा, भवन निर्माण, सामग्री खरिद, पुस्तकालय व्यवस्थापनलगायतका क्षेत्रमा व्यापक भ्रष्टाचार र अनियमिततासम्बन्धी उजुरी परेको उनले जानकारी दिए।

कार्यालयका अनुसार स्थानीय तहसँग सम्बन्धित उजुरी १०३, वन तथा वातावरण क्षेत्रमा १०६, भौतिक पूर्वाधार क्षेत्रमा ११४ र स्वास्थ्य क्षेत्रमा ५३ उजुरी दर्ता भएका छन्।

सूचना अधिकारी भट्टका अनुसार कुल उजुरीमध्ये करिब ५० प्रतिशत उजुरी स्थानीय तहसँग सम्बन्धित छन्। स्थानीय तहमा नीतिगत भ्रष्टाचार, पूर्वाधार निर्माण र सामग्री खरिदका नाममा व्यापक अनियमितता हुने गरेको उजुरीबाट देखिएको उनको भनाइ छ।

जिल्लागत रूपमा हेर्दा सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाबाट सबैभन्दा धेरै उजुरी दर्ता भएका छन्। चालु आर्थिक वर्षको हालसम्म कैलालीबाट दुई सय २० उजुरी दर्ता भएका छन्, जसमध्ये ६६ उजुरी फर्छ्यौट भइसकेका छन् भने १५४ उजुरीमाथि अनुसन्धान जारी छ।

त्यसैगरी, कञ्चनपुरबाट १६६ उजुरी दर्ता भएका छन्। तीमध्ये ६७ उजुरी फर्छ्यौट भएका छन् भने ९९ उजुरी बाँकी छन्। अछामबाट ९० उजुरी दर्ता भएकोमा १९ फर्छ्यौट र ७१ अनुसन्धानकै क्रममा छन्। बैतडीका ८० उजुरीमध्ये १५ फर्छ्यौट भएका छन् भने ६५ बाँकी छन्। दार्चुलाका ७४ उजुरीमध्ये १५ फर्छ्यौट र ५९ अनुसन्धानाधीन छन्। बझाङबाट ६७ उजुरी दर्ता भएकोमा १५ फर्छ्यौट र ५२ अनुसन्धानमा छन्।

डोटीका ६४ उजुरीमध्ये १३ फर्छ्यौट भएका छन् भने ५१ बाँकी छन्। सबैभन्दा कम उजुरी डडेल्धुरा जिल्लाबाट दर्ता भएको छ। डडेल्धुराबाट ५५ उजुरी दर्ता भएकोमा २१ फर्छ्यौट र ३४ अनुसन्धानकै क्रममा रहेका छन्।

कार्यालयका अनुसार हालसम्म दर्ता भएका ९०६ उजुरीमध्ये २५४ उजुरी फर्छ्यौट भएका छन् भने ६५८ उजुरी अझै प्रक्रियामा छन्। “दर्ता भएका ९०६ उजुरीमध्ये २५४ फर्छ्यौट भएका छन्, बाँकी ६५८ उजुरी अनुसन्धानकै क्रममा छन्,” सूचना अधिकारी भट्टले भने।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका प्रमुख वेदप्रकाश भण्डारीका अनुसार हाल १५० उजुरीमाथि विस्तृत अनुसन्धान भइरहेको छ। सुदूरपश्चिम प्रदेशका नौवटै जिल्ला र ८८ वटै स्थानीय तहका भ्रष्टाचार तथा अनियमिततासम्बन्धी मुद्दा यही कार्यालयमा दर्ता हुने गरेका छन्।

यद्यपि कार्यालयमा जनशक्ति अभाव गम्भीर समस्या बनेको छ। हाल कार्यालयमा १५ अनुसन्धान अधिकृत तथा सहायक अनुसन्धान अधिकृतसहित जम्मा ६३ कर्मचारी कार्यरत छन्। आवश्यक जनशक्ति नहुँदा अनुसन्धान र कार्यसम्पादनमा कठिनाइ भइरहेको कार्यालय प्रमुख भण्डारीले बताए।


क्याटेगोरी : सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode