बाल उमेरमै बन्दुक रोजेका साउँद : आज जीवन चलाउन परदेश
अछाम जिल्लाको दुर्गम रामारोशन गाउँपालिका- जहाँबाट जनयुद्धका क्रममा दर्जनौँ युवा भूमिगत भए, दर्जनौँ सहिद बने। यही माटोबाट उठेका एक नाम हुन् कम्मान सिंह साउँद (जोसीला। जनयुद्धका अग्रपंक्तिमा रहेर नेतृत्व गरेका साउँद आज भने जीविकोपार्जनका लागि परदेशिन बाध्य भएका छन्।
जनयुद्धको रापमा हुर्किएको युवा
२०५८ सालतिर देशव्यापी जनयुद्ध उत्कर्षमा रहँदा रामारोशन क्षेत्र पनि यसको प्रत्यक्ष चपेटामा पर्यो। यस अवधिमा यस क्षेत्रबाट ४६ जनाले सहादत प्राप्त गरे भने सयौँ घाइते, विस्थापित र कैदी बने। यही परिवेशमा हुर्किएका साउँद अध्ययनको उमेरमै राजनीतिक आन्दोलनमा होमिएका थिए।
उनले “देश नबदलिए व्यक्तिगत उन्नतिले अर्थ राख्दैन” भन्ने सोचका साथ पढाइभन्दा जनयुद्द रोजेको बताउछन् ।
संगठनदेखि मोर्चासम्म
साउँद रामारोशन सांस्कृतिक प्लाटुन हुँदै पार्टीको जिल्ला कमिटीसम्म पुगे। आवश्यकताअनुसार उनी जनमुक्ति सेना नेपालमा प्रवेश गरे।
जनमुक्ति सेनाको लिस्नेगाम स्मृति तेस्रो बिग्रेड, ७ नम्बर बटालियन (A कम्पनी) मा रहेर उनले विभिन्न मोर्चाहरूमा अग्रपंक्तिमा नेतृत्व गरेका थिए ।
उनले सहभागी भएका प्रमुख फौजी कारबाहीहरूमा बेनी सदरमुकाम, बर्दिया रम्बापुर, रुकुम खारा, कालिकोट पिली, कपिलवस्तु तौलिहवा, पाल्पा तानसेन, कञ्चनपुर गड्डाचौकी, कैलाली पण्डौन लगायतका क्षेत्र समावेश छन्। अछामका बयालपाटा, ठाटीखाँद, बिनायक, साफेबगर तथा डोटीको कफलेख क्षेत्रमा भएका भिडन्तमा पनि उनी सक्रिय थिए।
युद्धका क्रममा उनी दुई पटक गम्भीर घाइते भएका थिए। आज पनि शरीरमा रहेका गोलीका छर्राहरू उनका संघर्षका प्रमाण मानिन्छन्।
शान्तिपछि संगठनमा सक्रिय
शान्ति प्रक्रिया सुरु भएपछि पनि साउँद स्थानीय राजनीतिमा सक्रिय रहे। एमाले–माओवादी एकीकरणपछि बनेको नेकपामा उनी रामारोशन गाउँ कमिटी अध्यक्ष बनेर संगठन विस्तारमा सक्रिय रहे।
पछिल्लो राजनीतिक पुनर्संरचना र पार्टी विभाजनपछि उनी पुनः माओवादी केन्द्रमै रहेर एक कार्यकाल पालिका कमिटी अध्यक्षको जिम्मेवारी सम्हाले। संगठन कमजोर भएका क्षेत्रमा पैदल हिँडेर सदस्य विस्तार गरेको उनको नजिकका सहकर्मीहरू बताउँछन्।
उपेक्षा र निराशा
तर पछिल्लो समय पार्टीभित्रको गुटबन्दी, आसेपासे प्रवृत्ति र संघर्षशील कार्यकर्ताको मूल्यांकन नहुनुले उनी निराश बनेका छन् ।
जिम्मेवारी वितरणमा आफूलाई पन्छाइँदै लगिएको अनुभव भएपछि संगठनभित्रै असन्तुष्टि बढेको उनी निकट स्रोतहरू बताउँछन्।
परदेशिनुपर्ने बाध्यता
विकट गाउँ, परिवारको सम्पूर्ण आर्थिक जिम्मेवारी र घट्दो राजनीतिक भूमिका-यी सबै कारणले साउँद अन्ततः परदेशिन बाध्य भएका हुन्।
हाल उनी युएई (दुबई) मा PSBD सेक्युरिटी गार्डका रूपमा कार्यरत छन्।
उनको गाउँ छोडाइसँगै रामारोशन क्षेत्रमा स्थानीयले संगठन बिस्तारमा कठिनाई भोगीरहेका कार्यकर्ताहरूको भनाइ छ।
स्थानीयवासी र समर्थकहरू भने साउँदलाई पुनः गाउँ फर्केर नेतृत्व लिन आग्रह गरिरहेका छन्। उनीहरू भन्छन्-“दलले होइन, जनताले रोज्ने नेतृत्व चाहिएको छ। कम्मान सिंह साउँदजस्ता इमानदार र संघर्षशील नेता आज पनि गाउँको आवश्यकता हुन्।”
हाल परदेशमा रहेका साउँद भन्छन् “म शरीरले विदेशमा छु, तर मनले गाउँ र समाज परिवर्तनको सपना कहिल्यै छाडेको छैन।”

क्याटेगोरी : विचार, विचार/ब्लग, समाचार





प्रतिक्रिया