डडेल्धुराबाट चुनाव लड्ने चर्चाबीच नैनसिंह महर कैलालीबाट सिफारिस
धनगढी : नेपाली कांग्रेसका नेता नैनसिंह महर डडेल्धुराबाट प्रतिनिधि सभा चुनाव लड्ने तयारीमा रहेको चर्चा चलिरहेका बेला उनलाई कैलाली क्षेत्र नम्बर ४ बाट सिफारिस गरिएको छ।
सुदूरपश्चिममा चलिरहेको संगठनात्मक र निर्वाचन समीकरणबीच महराको नाम डडेल्धुरामा होइन, धनगढी–४ मा सिफारिस भएका कारण राजनीतिक वृतमा नयाँ तरंग पैदा भएको छ।
कांग्रेस कैलालीले सार्वजनिक गरेको सिफारिस सूचीअनुसार क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभाको प्रत्यक्षतर्फ वीरबहादुर बलायर, दिनेशराज जोशी, विजयबहादुर कुँवर, लोकराज पाण्डेय ‘आगो’, टेकराज जोशी, भुवन महरासँगै नैनसिंह महरको नाम पनि परेको छ।
महरलाई डडेल्धुरामा कांग्रेस नेतृत्वका केही पदाधिकारीहरूले सम्भावित उम्मेदवारको रूपमा अगाडि सारेको चर्चा यतिवेला स्थानीय राजनीतिक तहमा बलियो थियो।
तर औपचारिक रूपमा भने उनको नाम कैलालीमै सिफारिस भएपछि कांग्रेसभित्रको शक्ति–समीकरण, चुनावी रणनीति र आन्तरिक समन्वयबारे नयाँ बहस सुरु भएको छ।
कांग्रेसका एक नेताका अनुसार, डडेल्धुराबाट सभापति शेरबहादुर देउवाले चुनाव लड्ने आकांक्षा गरेपछि महरलाई कैलाली ४ बाट सिफारिस गरिएको हो।

क्याटेगोरी : राजनीति, समाचार, सुदूरपश्चिम





प्रतिक्रिया