Techie IT
  • २६ मंसीर २०८२, बिहीबार
  • काठमाडौं
Paschim Raibar

भीम रावल भन्छन् : ओली–देउवाले फेरि सत्ताको ‘घृणित खेल’ सुरु गरे


भीम रावल भन्छन् : ओली–देउवाले फेरि सत्ताको ‘घृणित खेल’ सुरु गरे

डडेल्धुरा: नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता डा. भीम रावलले एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले फेरि सत्ताको ‘घृणित खेल’ सुरु गरेको आरोप लगाएका छन्।

डडेल्धुरा सदरमुकाममा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले देउवा र ओली सत्ताको घृणित खेलमा लागेको आरोप लगाएका हुन्। हालै ओली–देउवा भेटपछि कांग्रेसले पनि प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित सर्वोच्च अदालत धाएको तथ्यले दुवै दल सत्ता र तालमेलको खेलमा लागेको प्रष्ट हुने उनले बताए।

नेता रावलले भने, ‘ओलीजीले दुईपटक प्रतिनिधिसभा विघटन गर्नुभयो। अहिले फेरि संसद् पुनर्स्थापनालाई लिएर चलखेल भइरहेको छ।’

ओली-देउवालाई मिलेर चुनाव लड्न आग्रह गर्दै उनले दुवै दललाई एकता गरेर ‘नेका–एमाले’ नाम राख्नसमेत सुझाव दिए। कांग्रेस र एमालेसँग नेकपा भने एक्लै चुनाव लड्न पूर्ण रूपमा तयार रहेको उनको दाबी छ।

डा. रावलले भदौ २३ र २४ का घटनापछि देशमा राष्ट्रिय शक्ति निर्माणको आवश्यकता देखिएकाले नेपाली कम्युनिस्ट पार्टी गठन भएको टिप्पणी गरे। उनले अहिलेको नेकपा नटुट्ने तथा इमानदार र देशभक्तहरूको पार्टी भएको बताए।

समान विचार भएका दलले एक ठाउँमा आउनुपर्नेमा जोड दिँदै उनले तत्काल एमालेसँग मिल्न नसकिने प्रस्ट पारे। पूर्वउपप्राधन तथा गृहमन्त्री डा. रावलले वर्तमान सरकारले स्वतन्त्र, निष्पक्ष र निर्वाचनमैत्री वातावरण तयार पार्नुपर्ने धारणा राखे।


क्याटेगोरी : राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode