एनपीएलको फाइनल पुग्यो सुदूरपश्चिम
धनगढी : नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको मंगलबार सम्पन्न पहिलो क्वालिफायरमा विराटनगर बोल्ट्सविरुद्ध सहज जित निकाल्दै सुदूरपश्चिम रोयल्सले फाइनलमा स्थान बनाएको छ ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर १५६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको विराटनगर १४ ओभर १ बलमा ७८ रनमै सीमित भयो । सुदूरपश्चिले ७७ रनको सहज जित निकाल्यो । विराटनगरले बनाएको ७८ रन सिजनकै सबैभन्दा कमजोर हो ।
यसअघि लिग चरणको १५ औं खेलमा काठमाडौं गोर्खाजले लिएको १४२ रनको लक्ष्य पछ्याउने क्रममा चितवनले ८९ रन बनाएको थियो । विराटनगरले लिग चरणमा सुदूरपश्चिमलाई जितेर पहिलो क्वालिफायरमा स्थान बनाएको थियो ।
सुदूरपश्चिमले उक्त हारको बदला लिएको छ । विराटनगरले अब इलिमिनेटरमा काठमाडौं गोर्खाजका र लुम्बिनी लायन्सबीचको खेलको विजेतासँग दोस्रो क्वालिफयरमा प्रतिस्पर्धा गर्न पाउनेछ ।
सो खेल जितेमा फाइनलमा फेरि सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्न पाउनेछ । अर्थात्, विराटनगरको फाइनल खेल्न सम्भावना कायमै छ ।
यस जितको निर्णायक सुदूरपश्चिमका ओपनर ब्याटर बिनोद भण्डारी बने । उनले ५२ बलमा ३ चौका र २ छक्काको सहयोगमा ६३ रन जोड्दै इनिङ उकासेका थिए ।
उनले १८ ओभरको अन्तिम बलसम्म क्रिजमा टिके । उनलै ब्याटिङ उकास्दा सुदूरपश्चिम ७ विकेटको क्षतिमा १५५ रनको अवस्थामा पुगेको थियो । यसका लागि शेल्डन ज्याक्सन र आरिफ शेखले समान २०–२० रन जोडे ।
हर्मितले १४ रन ओपनर मुख्तार अहमदले १० रन जोडे । जवाफी ब्याटिङमा उत्रिको विराटनगरका ओपनर साम हिजलेट गोल्डेन डक आउट भए । अर्का खेलाडी नरेन भट्ट डक आउट भए ।
पहिलो विकेट गुमेपछि ब्याटिङमा आएका मार्टिन गुप्टिल पनि सस्तैमा आउट भए । ३ बलमा ३ रन बनाएर उनी रन आउट भए । विराटनगरका फाप डुप्लेसीले सर्वाधिक ३६ रन बनाए । उनले २९ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।
बसिर अहमदले १२ र मर्चेन्टडी ल्याङ्गेले १५ रन जोडे । अन्य ब्याटरहरुले दोहोरो रन बनाउन सकेनन् । पहिलो ओभरमा २ विकेट गुमाएको विराटनगरले पछिसम्मै ब्याटिङमा लय समात्न सकेन ।

क्याटेगोरी : खेलकुद, समाचार





प्रतिक्रिया