१९औँ सुदूरपश्चिम महोत्सवको तयारी पूरा, भोलि अर्थमन्त्रीले उद्घाटन गर्ने
धनगढी : सुदूरपश्चिमको आर्थिक तथा सांस्कृतिक पहिचान झल्काउने उद्देश्यले आयोजना गरिँदै आएको सुदूरपश्चिम महोत्सवको १९औं संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ।
कैलाली उद्योग वाणिज्य संघको आयोजनामा धनगढी उपमहानगरपालिका–१ पशुपति टोलमा सञ्चालन हुने यो महोत्सवको सोमबार (भोलि) अर्थमन्त्री रामेश्वर खनालले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।
आयोजक संघका अनुसार पुस २ गतेसम्म चल्ने यस महोत्सवमा करिब ३ करोड रुपैयाँ लगानी गरिएको छ भने १५ करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा राखिएको छ।
महोत्सवस्थलमा कृषि, जडिबुटी, हस्तकला, गार्मेन्ट, इलेक्ट्रोनिक र होटललगायत ५ सय वटा स्टलहरू रहनेछन्। यसपटक कृषितर्फ ४० तथा महिला उद्यमी, एकल महिला र स्थानीय परिकारका १५ गरी कुल ५५ वटा स्टलहरू निःशुल्क उपलब्ध गराइएको छ।
महोत्सव अवलोकनका लागि सर्वसाधारणलाई १०० रुपैयाँ र विद्यार्थी तथा खेलाडीका लागि ५० रुपैयाँ टिकट शुल्क तोकिएको छ। ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिहरूलाई भने प्रवेश निःशुल्क गरिएको आयोजकले जनाएको छ ।
महोत्सव अवधिभर करिब ७ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । २०६३ सालमा सुदूरपश्चिमको विकासका लागि २१ बुँदे माग राख्दै सुरु भएको यो महोत्सवले यस क्षेत्रको कृषि, पर्यटन, उद्योग र व्यापारको प्रवर्द्धनमा टेवा पुर्याउने विश्वास लिइएको छ।

क्याटेगोरी : सुदूरपश्चिम






प्रतिक्रिया