सुदूरपश्चिम रोयल्सको क्रेज चुलिँदै, टिकट ‘सोल्ड आउट’ !
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सको लोकप्रियता दिनप्रतिदिन चुलिँदै गएको छ।
मैदान होस् वा सोसल मिडिया, रोयल्स हाल सबैभन्दा ठूलो समर्थक बेस भएको टिमका रूपमा देखिएको छ।
त्रिवि क्रिकेट मैदानमा रोयल्सको खेल हुनेबित्तिकै दर्शकले मैदान खचाखच भरिन्छ। टिकट बिक्रीले पनि यसको लोकप्रियता पुष्टि गरिरहेको छ।
४ डिसेम्बरमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीचको खेल छ । खल्ती एपमा यो खेलका लागि टिकट ‘सोल्ड आउट’ भइसकेको छ। आगामी शनिबार अर्थात ६ डिसेम्बरमा हुने विराटनगर र सुदूरपश्चिमबीच हुने म्याचको समेत टिकट बिक्री भइसकेको छ।
यता, अन्य टिमका खेल भने खुला टिकटमै चलिरहेका छन्। आज हुने जनकपुर खक चितवन र पोखरा एभेञ्जर्स खक कर्णाली याक्स, भोलि हुने विराटनगर खक लुम्बिनी लायन्सका लागि टिकट सहजै उपलब्ध छ।
विश्वकक्षाका खेलाडी फाफ डु प्लेसिस खेल्ने सम्भावना रहे पनि सुदूरपश्चिमको खेलजस्तो उत्साह अन्य खेलमा देखिँदैन।
अघिल्लो सिजनको उपविजेता सुदूरपश्चिम रोयल्सले यसपटक खेलेका पाँचै खेल जित्दै लिगमा अपराजित छ।
भूगोलमा बढ्दो क्रिकेट रुचि, राष्ट्रिय टिममा चम्किएका खेलाडी, सन्तुलित स्क्वाड र अघिल्लो सिजनको उत्कृष्ट प्रदर्शन, यी सबै कारणले रोयल्स ‘सबैको टिम’ जस्तै बनेको छ।
गत वर्ष जनकपुर बोल्ट्ससँग फाइनल हार्दै उपाधि गुमाएको रोयल्स यसपटक फरक आत्मविश्वासमा छ। जनकपुर चार खेल लगातार हारेर संघर्षमा हुँदा रोयल्सलाई धेरैले उपाधि दाबेदारका रूपमा हेरेका छन्।
क्याटेगोरी : खेलकुद, समाचार, सुदूरपश्चिम










प्रतिक्रिया