बान्नीगढी सरकारको निर्णय पैतलामा : एक हप्तामा फेरिए तीन हाकिम
अछाम : अछामको बान्नीगढी जयगढ गाउँपालिकामा एक हप्ताका तीन जना हाकिम परिवर्तन भएका छन्।
निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा कायम रहेका वसन्त रावल, झनक रेग्मी, हर्कबहादुर शाही गरि एक हप्ताको अवधिमा तीन वटा निमित्त प्रमुख प्रशासकीय अधिकृत फेरिएका हुन्।
मन्त्रालयले छैटौँ तहका वसन्तबहादुर रावलको ठाउँमा ७ औँ तहका झनक रेग्मीलाई यहि मंसिर ४ गते जिम्मेवारी दिएकोमा चार दिन नपुग्दै यहि मंसिर ८ गतेदेखी हर्कबहादुर शाहीलाई निमित्त प्रमख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो।
निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा छैटौँ तहका रावलले जिम्मेवारी सम्हाल्दै आएकोमा बढुवा पश्चात् सातौ तह कायम भएका झनक रेग्मीलाइ निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिन गाउँ कार्यपालिका बैठकले सिफारिस गरे पश्चात् संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक अख्तियारी सहित निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा कामकाज गर्न अख्तियारी दिएको थियो।
कार्यपालिका बैठकले लिखित निर्णय नै गरेर सातौँ तहका झनक रेग्मी बरिस्ठतम् रहेको भन्दै निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीका लागि सिफारिस गरे पश्चात् रेग्मीलाई जिम्मेवारी दिएको ४ दिन नबित्दै फेरि संघीय तथा सामान्य प्रशासन मन्त्रालयले हर्कबहादुर शाहीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी किन दियो ? भन्ने बिषयमा गम्भीर प्रश्न उठेको छ।
गाउँपालिकाको कार्यपालिका बैठकले गरेको लिखित निर्णयलाइ चुनौती दिएर शाहीले कसरी जिम्मेवारी पाए भन्ने बिषय चासोको विषय बनेको छ।
जनदबाबका कारण झनक रेग्मीलाई जिम्मेवारी दिनेबारे लिखित निर्णय गर्न बाध्य भए पनि गाउँपालिका अध्यक्ष टेकबहादुर साउँद उक्त निर्णयप्रति भित्री रुपमा खुसी नभएको कार्यपालिकाका एक सदस्यले बताएका छन्।
गाउँपालिकामा कार्यरत एक कर्मचारीका अनुसार जिम्मेवारी पाएको ४ दिनमै जिम्मेवारी खोसेर शाहीलाई मन्त्रालयले जिम्मेवारी दिनुमा रेग्मीकै समान तहमा कार्यरत रहेका लेखा अधिकृत नारद खनालको चाहानाले पनि काम गरेको हो।
कार्यपालिका बैठकको निर्णयलाई उल्टाएर सिंगो गाउँपालिका सरकारलाई चुनौती दिँदै हर्क शाहीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मवारी दिइए पश्चात् गाउँपालिका अध्यक्ष टेकबहादुर साउँद, उपाध्यक्ष बिन्दु रावल लगायत समग्र कार्यपालिकाले के कदम चाल्छ त्यो भने हेर्न बाँकी छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम










प्रतिक्रिया