सुदूरपश्चिममा थपिए ४६ हजार २० मतदाता, अछाममा कति ?
धनगढी : सुदूरपश्चिम प्रदेशमा ४६ हजार २० नयाँ मतदाता थपिएका छन्।
प्रतिनिधि सभा सदस्य निर्वाचनलक्षित निर्वाचन आयोगले मतदाता नामावली दर्ता र अद्यावधिक गर्दा यस प्रदेशमा झन्डै आधा लाख नयाँ मतदाता थपिएका हुन्।
आयोगले असोज १० देखि मङ्सिर ५ गतेसम्म मतदाता नामावली दर्ता र अद्यावधिक गरेको थियो।
प्रदेश निर्वाचन कार्यालयका अनुसार कैलालीमा सबैभन्दा बढी १८ हजार २१३, कञ्चनपुरमा १२ हजार २९१ नयाँ मतदाता थपिएका छन्।
यस्तै बैतडीमा दुई हजार ६५२, दार्चुलामा दुई हजार ६२८, डडेलधुरामा एक हजार ८९२, बझाङमा दुई हजार ३४५, अछाममा दुई हजार ६०४ नयाँ मतदाता थपिएका छन्।
यसै गरी डोटीमा एक हजार ८७८ र बाजुरामा एक हजार ५१७ नयाँ मतदाता थपिएका छन्।
यसअघि भएको निर्वाचनका बेला सुदूरपश्चिम प्रदेशमा जम्मा १६ लाख ७४ हजार मतदाता रहेका थिए। त्यसबेला कैलालीमा मात्रै पाँच लाख ३४ हजार मतदाता थिए।
अब प्रदेशभर नै मतदाता सङ्ख्या बढेको प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले बताए। उनले यस पटक थपिने नयाँ मतदातामा बढी युवा रहेको उल्लेख गरे।
तराईका जिल्लामा मात्रै होइन पहाडी जिल्लामा पनि उत्साहजनक रूपमा नयाँ मतदाता थपिएका छन्।
जिल्ला निर्वाचन कार्यालय दार्चुलाका प्रमुख प्रदीपसिंह धामीले यसपालि मतदाता नामावली दर्ता गराउनेमा बढी जसो युवा नै रहेको बताए।
जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख हरिशचन्द्र जोशीले यस पटक मतदाता नामावली दर्ता गराउन युवापुस्ता उत्साहजनक रूपमा आएको बताए।
भ्रष्टाचार अन्त्य र सुशासनको मुद्दा अगाडि बढाएर गत भदौ २३ र २४ गते युवापुस्ता (जेनजी) को आन्दोलन भएको थियो।
जेनजी आन्दोलनको जगमा बनेको सरकारले तत्कालीन प्रतिनिधि सभालाई विघटन गरेर आगामी फागुनमा निर्वाचन घोषणा गरेपछि मतदाता नामावली दर्ताको काम अगाडि बढाइएको थियो।
जेनजी आन्दोलनपछि हुन गइरहेको निर्वाचनमा सो पुस्ताको चासो विगतका चुनावको तुलनामा बढी हुने अपेक्षा गरिएको छ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम










प्रतिक्रिया