Hikmat Acharya
  • ८ मंसीर २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

कञ्चनपुरमा तोडफोड गर्नेविरुद्ध जाहेरी


धनगढी : जिल्ला सरकारी वकिल कार्यालय महेन्द्रनगर, कञ्चनपुरले जेनजी आन्दोलनका क्रममा कार्यालयमा भएको आगजनी र तोडफोड गर्नेबारेमा छानबिनको मागसहित प्रहरीमा जाहेरी दिएको छ ।

गत भदौ २४ गते जेनजी समूहले जिल्ला सरकारी वकिल कार्यालयमा आगजनी गर्नुका साथै उपकरण तोडफोड गरेको थियो ।

कार्यालयको भुइँ तलामा भएको आगजनी र उपकरण तोडफोड गर्नेको छानबिन गरेर कारबाहीको मागसहित बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दिएको जिल्ला सरकारी वकिल कार्यालय कञ्चनपुरका न्यायाधिवक्ता फटिकराज मुडभरीले बताए ।

मुडभरीका अनुसार जिल्ला सरकारी वकिल कार्यालयमा रहेका कम्प्युटर, फर्निचर र सिसिटिभीलगायतका उपकरणमा भएको तोडफोड र आगजनीबाट १३ लाख ७० हजार रुपियाँ बराबरको क्षति भएको छ ।

यद्यपि आगलागीबाट महत्वपूर्र्ण फाइल, मिसिलमा भने क्षति नभएको उनले बताए ।

आन्दोलनकारीले कार्यालयमा प्रवेश गर्दै सिसिटिभी तोडफोड गरेर भुइँ तलामा आगजनी गर्नुका साथै उपकरण तोडफोड गरेको न्यायाधिवक्ता मुडभरीले बताए ।

उनका अनुसार आन्दोलनकारीको पहिचान हुन नसक्दा सडक तथा अन्य क्षेत्रमा जडान गरिएका सिसिटिभीका माध्यमबाट उनीहरूको पहिचान गर्न सकिने छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भने जिल्ला सरकारी वकिल कार्यालयमा आगजनी र तोडफोड गर्नेको छानबिन गरेर कारबाहीको मागसहित जाहेरी परेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहोराले जिल्ला सरकारी वकिल कार्यालयमा आगजनी गर्दै उपकरणलगायतका सामग्री तोडफोड गरिएकाले छानबिन गरेर कारबाही गरिने मागसहित जाहेरी परेको बताए ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode