Techie IT
  • २२ मंसीर २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

धनगढीको माया मेट्रो अस्पतालले ‘डायलाइसिस फिस्टुला’ को शल्यक्रिया निःशुल्क गर्ने


धनगढीको माया मेट्रो अस्पतालले ‘डायलाइसिस फिस्टुला’ को शल्यक्रिया निःशुल्क गर्ने

 

धनगढी- मृगौला सम्बन्धी समस्या जुधिरहेका बिरामीको सहजताका लागि माया मेट्रो अस्पताल प्रालिले ‘डायलाइसिस फिस्टुला’ को शल्यक्रिया निःशुल्क गर्ने भएको छ।

अस्पतालले मंसिर १ गतेदेखि मंसिर २९ गतेसम्म डायलाइसिस फिस्टुलाको शल्यक्रिया निःशुल्क गर्ने जनाएको छ। सुदूरपश्चिम प्रदेशमा पनि मृगौलाका बिरामी बढ्दै जाँदा नियमित डायलाइसिसमा निर्भर हुने बिरामीहरूको सङ्ख्या पनि बर्सेनि बढिरहेको छ।

तर डायलाइसिस गर्नका लागि आवश्यक हुने फिस्टुला बनाउने शल्यक्रिया धेरैको लागि आर्थिक रूपमा चुनौतीपूर्ण बन्दै आएको छ।

यही अवस्थालाई मध्यनजर गर्दै माया मेट्रो हस्पिटलले सामाजिक उत्तरदायित्व अन्तर्गत ‘डायलाइसिस फिस्टुला’ को शल्यक्रिया निःशुल्क गर्न लागेको अस्पतालका मृगौला तथा मूत्ररोग विशेषज्ञ विशेषज्ञ डा. सुमित कर्णले बताए।

डाक्टर कर्णका अनुसार डायलाइसिस गर्न, शरीरमा निरन्तर र सुरक्षित रूपमा रगत निकाल्न र फर्काउन ‘एक सुरक्षित मार्ग’ आवश्यक पर्छ। यही सुरक्षित मार्गलाई नै आर्टेरियो–भेनस फिस्टुला भनिन्छ।

डायलाइसिस गर्दा उच्च मात्रामा रगतको बहाव आवश्यक पर्छ। सामान्य नसाबाट इच्छित मात्रामा रगत ननिस्किने भएकाले, एकदम बलियो र ठूलो नसाको मार्ग बनाउनुपर्छ। हातको नसालाई धमनीसँग जोडेर बनाइने यो मार्ग धेरै वर्ष टिक्न सक्षम हुने जनाएको छ।

यदि फिस्टुला नबनाए डायलाइसिस गर्न नसिकिने, बारम्बार नसा फुट्ने समस्या हुन सक्ने सङ्क्रमण बढ्ने जोखिम हुन सक्ने जनाएको छ। बिरामीले हप्तामा २–३ पटक डायलाइसिस गरिरहनुपर्ने भएकाले फिस्टुला अत्यावश्यक हुने डाक्टर कर्ण बताउँछन्।

सरकारले मृगौला फेल भएका बिरामीलाई निःशुल्क डायलाइसिस प्रदान गरिरहेको छ। तर डायलाइसिस गर्नको लागि शरीरमा फिस्टुलाको निमार्ण गर्नुपर्ने र ती बिरामीले धेरै खर्च गरेर बाहिर जानुपर्ने अवस्था रहेको छ।

मृगौला फेल भएका बिरामीलाई सहज बनाउनको लागि अहिले उक्त सेवा एक महिनाको लागि रहेको भए पनि बिरामीको चापलाई मध्यनजर गर्दै सो सेवालाई थप गर्न सकिने अस्पतालले जनाएको छ।

निःशुल्क शल्यक्रियासँगै, बिरामीहरूको उपचारमा सहजता ल्याउन अस्पतालले ल्याब,फार्मेसी र बेड चार्जमा समेत छुटको व्यवस्था गरेकोले उक्त सेवा लिन अस्पतालले आग्रह गरेको छ।

 


क्याटेगोरी : सुदूरपश्चिम, स्वास्थ्य-शिक्षा

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode