विकाससँगै रूपान्तरण : गाउँको आत्मा र नयाँ पुस्ताको जिम्मेवारी
गाउँ यो शब्दले झट्ट सुन्दा घर टाढा भए पनि मन एकदमै नजिक हुने ठाउँको अनुभूति दिन्छ।
जहाँ एकअर्काप्रति आदर, सम्मान, सद्भाव, आपसी माया र सहकार्य स्वतः बगिरहन्छ।
गाउँको खुला आकाश, सानो जमघट, सन्तुष्ट भावले भरिएको सामुदायिक जीवन र ठूलो सानो सबैलाई समान दृष्टिले हेर्ने संस्कार नै गाउँको पहिचान हो।
ठूला मान्छेसँग आँखामा आँखा जुधाउन पनि संकोच हुने, सानालाई माया र आशिर्वाद दिइने, आफन्त छिमेकीबीच मनको सम्बन्ध मजबुत भएर बाँचिने त्यही गाउँ अहिले परिवर्तनको नयाँ धारमा छ।
पछिल्लो केही वर्षमा गाउँमा स्वास्थ्य, शिक्षा, सडक, यातायात, संचार, विद्युतजस्ता भौतिक पूर्वाधारमा सामान्य सुधार देखिन्छ।
सडक निर्माणले आवत जावत सहज बनाएको छ, विद्युत विस्तारले उज्यालो बढेको छ, संचार सेवाले सूचना पहुँच सजिलो बनाएको छ।
तर यिनै विकासका बीच धेरै चुनौती पनि बाँकी छन्। भौतिक पूर्वाधार वृद्धि भए पनि गुणस्तर, दिगोपन र दीर्घकालीन प्रभावका हिसाबले अझै पूर्णता हासिल भएको छैन।
गाउँले र युवापुस्ताले अपेक्षा गरेको जस्तो व्यवस्थित, योजनाबद्ध र भविष्यमुखी विकास भने अझै प्रभावकारी रूपमा अगाडि बढ्न सकेको छैन।
यस्ता विषयमा स्थानीय तहदेखि समुदायका सबै सरोकारवाला सावधान र जिम्मेवार बन्न अत्यन्त आवश्यक छ। तर भौतिक विकास जति महत्वपूर्ण छ, त्यति नै महत्वपूर्ण अर्को पक्ष सामाजिक मूल्य र मान्यता हो, जुन दिनानुदिन कमजोर हुँदै गएको देखिन्छ।
पछिल्लो पुस्ता जसलाई भोलिको समाजको मेरुदण्ड मानिन्छ ठीक त्यही ठाउँमा कमजोर र विचलित हुँदै गएको अनुभूति हुन्छ।
समाजमा आवश्यकीय सामाजिक एकता, सामूहिक भाव, सहअस्तित्व, संस्कार, धर्म, परम्परा र सत्यप्रति आकर्षण कम भएर गएको चिन्ता उठ्न थालेको छ।
यदि आजै सचेत नबनिए, भविष्यले ठूलो मूल्य चुकाउनु पर्ने सम्भावना अत्यन्त प्रबल छ।
यो परिवर्तनको मूल कारण प्रविधिको तीव्र विकाससँग पनि जोडिन्छ। प्रविधि आफैँ गलत होइन यो त हाम्रो जीवनलाई सहज बनाउने उत्तम साधन हो।
आज सूचना आदान प्रदान अत्यन्त द्रुत र सहज बनेको छ। जहाँ पहिले टाढा बसेका आफन्तलाई सानो खबर दिन पनि चर्को स्वरमा ‘डाको हालेर’ बोलाउनु पर्ने, दिदी–बहिनी दाजुभाइसँग महिना महिनासम्म कुराकानी हुन नसक्ने अवस्था थियो, अहिले त्यो एक क्लिकमै सम्भव भएको छ।
प्रविधिले मन मनको दूरी घटाएको छ, अवसर र ज्ञानको ढोका खोलिदिएको छ।
यद्यपि, प्रविधि सही सदुपयोगको थलो हो तर दुरुपयोग भयो भने यसले मानिसलाई आफ्नो संस्कृति, परिवार र समाजबाट टाढा लैजाने पनि गर्छ।
आज धेरै युवा आभासी संसारमा त छरपस्ट छन्, तर वास्तविक समाज, परिवार र समुदायप्रति जिम्मेवारीमा कमजोर हुँदै गएका छन्।
यही कारण पुरानो पुस्ता र नयाँ पुस्ताबीचको दूरी बढ्दै गएको छ। पुरानो पुस्ताको अनुभव र जीवन ज्ञान, नयाँ पुस्ताको ऊर्जा र आधुनिक सोचसँग संयोजन हुन सकेन भने समाजले भविष्यमा ठूलो क्षति भोग्नुपर्छ।
त्यसैले आजको आवश्यकता छ यी दुई पुस्ताबीच पुल निर्मित गर्ने, मूल्य र संस्कारसँग प्रविधिलाई सन्तुलित रूपमा जोड्ने, सामुदायिक भावना र सामाजिक एकतालाई पुनः सुदृढ बनाउने।
गाउँको वास्तविक विकास भौतिक पूर्वाधार निर्माणमै सीमित हुँदैन। विकास तब मात्र अर्थपूर्ण हुन्छ जब गाउँका मानिसबीच आपसी विश्वास, सद्भाव, सहयोग, सामाजिक अनुशासन र साझा पहिचान अझ मजबुत हुन्छ।
पुराना मूल्यहरूलाई सम्मान गर्दै नयाँ पुस्तामा नेतृत्व, जिम्मेवारी, आचरण र नैतिकताको चेतना जगाउन सकियो भने गाउँको भविष्य उज्यालो हुनेछ।
हामी सबैको जिम्मेवारी यो हो
गाउँलाई सुन्दर बनाउने काम सरकार, पालिका वा केही व्यक्तिको मात्र कर्तव्य होइन; यो त सम्पूर्ण समुदायको साझा दायित्व हो।
युवाले आफ्नो क्षमता, ऊर्जा र प्रविधि ज्ञानलाई सही मार्गमा प्रयोग गर्नुपर्छ।
अभिभावक र पुरानो पुस्ताले आफ्ना अनुभव, संस्कार र जीवन सीपलाई नयाँ पुस्तामा सौहार्दपूर्ण रूपमा हस्तान्तरण गर्नुपर्छ।
स्थानीय संस्थाहरूले मूल्य आधारित कार्यक्रम र समुदाय सुदृढीकरण अभियानहरू सञ्चालन गर्नुपर्छ।
अन्त्यमा, गाउँ बदलिँदै छ । तर परिवर्तन राम्रो वा नराम्रो बन्नु हाम्रो हातमा छ।
यदि हामीले भौतिक विकाससँगै सामाजिक मूल्य, मान्यता, संस्कार र सामूहिक भावनालाई सँगै अघि बढाउन सक्यौं भने हाम्रो गाउँ मात्र होइन, हाम्रो समाज नै उज्यालो भविष्यतर्फ गइदिन्छ।
सकारात्मक सोच, सभ्य व्यवहार र आत्मीय सम्बन्धलाई केन्द्रमा राखेर हरेक पुस्ताले हातेमालो गरे नयाँ पुस्ताले भोलि समाजलाई सही बाटोमा अगाडि बढाउन निश्चित रूपमा सक्षम हुनेछ।
केशर बिष्ट
रामारोशन गाउँपालिका-४ बाटुलासैन,अछाम
र, यो पनि :
क्याटेगोरी : विचार/ब्लग, समाचार










प्रतिक्रिया