एमालेमा ‘भूकम्प’को पूर्वसङ्केत: भीम रावल निकटका आधा दर्जन नेता नेकपातिर !
धनगढी : सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने नेकपा (एमाले)का आधा दर्जन केन्द्रीय सदस्यहरू नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्ने तयारीमा रहेको जानकारी दिइएकाे छ।
डा. भीम रावल निकट मानिने झपटबहादुर रावलसहितका नेता नेकपामा भित्रिन लागेको बताइन्छ। एमालेबाट निकालिएपछि मातृभूमि जागरण अभियान चलाउँदै आएका भीम हिजोदेखि नेकपामा समाहित भइसकेका छन्।
अब उनी आफू निकटका एमाले नेता-कार्यकर्तालाई पनि नेकपामा भित्र्याउन कस्सिएको स्राेतकाे दाबी छ। हिजोको एकता घोषणा सभामा त्यसको संकेत गर्दै प्रकाश ज्वालाले मङ्सिर २७ गते एमालेमा भूकम्प जान ठोकुवा गरेका थिए।
सुदूरपश्चिममा रावलको व्यक्तिगत प्रभावसमेत रहेको मानिन्छ। उनलाई टिकट नदिएर बिच्काएकै कारण ०७९ को चुनावमा त्यहाँ एमाले पराजित भएको भन्नेहरू धेरै छन्।
हुन त, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि सुदूरपश्चिमकै हुन्। तर, ‘जेनजी विद्रोह’पछि उनले सक्रिय राजनीतिबाट बिदा हुने संकेत देखाएपछि अब भीमले शक्ति सञ्चय गर्नसक्ने विश्लेषण कतिपयको छ।
उनी निकटका एक नेता भन्छन्, ‘सुदूरपश्चिमको नेता भनेको कि देउवा हुनुहुन्छ, कि रावल कमरेड हो। देउवा अहिले फरक परिस्थितिमा हुनुहुन्छ, त्यसैले रावल कमरेडलाई यहाँको नेता बन्ने ठूलो अवसर छ।’
क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार, सुदूरपश्चिम










प्रतिक्रिया