संघर्षको राजनीतिबाट आत्मसम्मानको खोजमा तारा जोशी, पुगे कुलमानको उज्यालोमा
डडेल्धुरा : अन्ततः डडेल्धुराका स्वतन्त्र सांसद डा. तारा प्रसाद जोशी कुलमान घिसिङ संरक्षित उज्यालो नेपाल पार्टीमा पुगेका छन्। २५ वर्षको उमेरमै एमालेको डडेल्धुरा सचिव बनेर राजनीतिक यात्रा सुरु गरेका जोशी दुई पटक अध्यक्ष प्रणालीमा जिते पनि अन्ततः उनी आफ्नै पार्टीभित्रको अन्याय र द्वन्द्वबाट थकित बने।
एमालेमा हुँदा केपी शर्मा ओली र माधवकुमार नेपाल दुवैबाट पाएको ‘राजनीतिक अत्याचार’ र विभाजनपछिको मानसिक पीडाले उनलाई नयाँ बाटो रोज्न बाध्य बनायो। जोशीका लागि यो नयाँ यात्रा खुसीभन्दा बढी बाध्यताको हो।
उनले पछिल्लो समय घनश्याम भुसालको मार्क्सवादी अध्ययन केन्द्रमा समेत संलग्न रहे, तर त्यहाँ पनि असन्तुष्ट बनेपछि अन्ततः कुलमान घिसिङ संरक्षित उज्यालो नेपाल पार्टीमा देखिएका हुन्।
भुसालसँगको सम्बन्ध टुट्दै जाँदा जोशीको राजनीतिक अध्याय फेरि एकपटक मोडिएको छ। नयाँ दिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालय ९जेएनयु० बाट अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिक सम्बन्धमा विद्यावारिधि (पीएचडी) गरेका डा. जोशी आज सुदूरपश्चिम प्रदेशसभाका स्वतन्त्र सदस्य हुन्।
२०४८ सालमा एमालेको झण्डा बोकेर उनी शेरबहादुर देउवाकै गाउँ गन्यापधुरामा उभिए, जहाँ त्यतिबेला कम्युनिष्ट हुनु अपराधसरह मानिन्थ्यो। त्यहीँबाट उनले संघर्षको बाटो सुरु गरे। त्यो समय डडेल्धुरामा कांग्रेसको वर्चस्व यति बलियो थियो कि शेरबहादुर देउवाको नाम र समर्थनमै राजनीति निर्धारण हुन्थ्यो।
त्यस्तो ठाउँमा २५ वर्षीय जोशीले कम्युनिष्ट भएर संगठन विस्तार गर्नु असम्भवजस्तै चुनौती थियो। उनी २०२७ सालमा गन्यापधुरामै जन्मिएका हुन् र बाल्यकालदेखि नै पढाइमा अग्रणी थिए। २०५५ सालतिर राजनीतिसँगै पत्रकारितामा समेत सक्रिय बनेका जोशी ‘शिखा’ साप्ताहिकका प्रमुख सम्पादक बने। कान्तिपुर, नेपाल साप्ताहिक र भारतको हिन्दुस्तान टाइम्समा स्तम्भ लेख्दै उनले आफ्नो वैचारिक पहिचानलाई अन्तर्राष्ट्रिय रूपमा फैलाए।
२०५४ सालमा एमाले फुट्दा उनी मालेमा गए र जिल्ला कमिटीसहित पार्टी फुटाए। डडेल्धुरालाई एमालेमुक्त बनाए पनि २०५८ मा एकता प्रक्रियाअन्तर्गत पुनः एमाले फर्किए। एमाले फर्किएपछि उनले जिल्लामा संगठन पुनर्जीवित गरे। केन्द्रीय नेताहरूको विश्वास जिते र जिल्ला स्तरमा आफूलाई स्थापित गरे।
तर, पार्टीको आठौं महाधिवेशन बुटवलमा हुँदा उनले झलनाथ खनालको पक्ष लिएपछि ओली–माधव गठबन्धनको निशानामा परे। बुटवलबाट फर्किएपछि उनलाई १८ महिनासम्म पार्टीले निष्क्रिय बनायो।
त्यसपछि पनि हार नमान्ने स्वभावका जोशी पूरक अधिवेशनमा पुनः अध्यक्ष बने। २०७० को संविधानसभा दोस्रो निर्वाचनमा उनी देउवालाई पराजित गर्ने लक्ष्यसहित मैदानमा उत्रिए, तर आफ्नै पार्टीभित्रका पदम पाल र विक्रम शाही जस्ता नेताहरूले देउवालाई जिताउन काम गरे।
माधव नेपाल र ईश्वर पोखरेलसमेत शाहीको घरमा बस्ने र समर्थन गर्ने अवस्थाले जोशीलाई गम्भीर रूपमा आहत बनायो। यतिसम्मको दुस्ख भोगिसकेपछि पनि २०७८ सालमा एमाले फुट्दा उनी माधव नेपालकै नेकपा (एकीकृत समाजवादी) रोजे। तर, त्यहाँ पनि उनलाई सम्मान होइन, पुनः निराशा मात्र भेटियो।
२०७९ को प्रदेशसभा निर्वाचनमा पार्टीले उम्मेदवारी फिर्ता लिन निर्देशन दियो, तर उनले मानेनन्। माधव नेपालका धम्की र हप्कीका बीच उनले स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव जिते।
चुनावपछि माधव नेपालले उनलाई पुनः पार्टीमा फर्काउने प्रयास गरे, पछि घनश्याम भुसालले पनि पटक–पटक आग्रह गरे। तर, जोशीको जवाफ सधैं एउटै रह्यो, “जहाँ असमानता दोहोरिन्छ, त्यहाँ फर्किन सक्दिन।” अन्ततः उनी कुलमान घिसिङको संरक्षणमा पुनःसंरचित उज्यालो नेपाल पार्टीमा आवद्ध भएका छन्।
पार्टीले उनलाई दोस्रो वरीयतामा राखेको बताइन्छ । राजनीतिक अन्याय, असमान व्यवहार र आन्तरिक घात–प्रतिघातले थकित डा. जोशीका लागि उज्यालो नेपाल पार्टी नयाँ सुरुवातको आशा बनेको छ।

क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार, सुदूरपश्चिम





प्रतिक्रिया