Hikmat Acharya
  • २४ कात्तिक २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

उपभोक्ता समितिमार्फत काम नगर्न मुख्यमन्त्री शाहको निर्देशन


बैतडी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उपभोक्ता समितिमार्फत कुनै पनि काम नगर्न निर्देशन दिएका छन् ।

यहाँ शनिबार आयोजित जनप्रतिनिधि, कर्मचारी तथा सुरक्षा निकायका प्रतिनिधिसँगको छलफल तथा अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री शाहले उक्त निर्देशन दिएका हुन् ।

ठेक्का सम्झौतामार्फत विकास निर्माणलाई प्राथमिकता राख्नुपर्नेमा जोड दिँदै उनले पालिका महासङ्घलाई समेत स्पष्ट मापदण्ड निर्धारण गरी अति आवश्यक भएको ठाउँमा मात्र उपभोक्ता समितिमार्फत काम गर्ने गरी र प्रदेश कानुनअन्तर्गत समेटिने स्पष्ट मापदण्ड बनाउन निर्देशन दिए ।

त्यसैगरी, मुख्यमन्त्री शाहले योजना कार्यान्वयन कार्यतालिका निर्माण गरी काम गर्न मातहतका निकायलाई निर्देशन दिए । आवश्यक नभएको ठाउँमा बजेट विनियोजन गरिएको र काम सम्पन्न भइसकेका योजनामा पनि काम नगरेको जनगुनासो आउन थालेपछि स्पष्ट रूपमा कार्य योजना तयार गरेर योजना कार्यान्वयन गर्न उनले निर्देशन दिए ।

 “आवश्यकता नभएको ठाउँमा बजेट विनियोजन भएको व्यापक गुनासो आएको छ”, मुख्यमन्त्री शाहले भने, “यदि यस्तो भएको छ भने त्यस्तो बजेट कार्यान्वयन हुने छैन, त्यसका लागि योजना कार्यान्वयन कार्यतालिका निर्धारण गर्नुहोस् ।”

कार्यक्रममा प्रदेशसभा सदस्य शिवराज भट्ट, सुरेन्द्र पाल र जानकी ऐर बम, जिल्लाका अन्य जनप्रतिनिधि, कर्मचारीलगायतको सहभागिता रहेको थियो । अन्तरक्रिया गर्न मुख्यमन्त्री शाह आइतबार दार्चुला जाने कार्यक्रम छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode