Hikmat Acharya
  • २३ कात्तिक २०८२, शनिबार
  • काठमाडौं
Paschim Raibar

अछाममा ‘प्लस टु’का लागि शिक्षक राख्न देउसी–भैलोबाट सहयोग जुटाइयो


अछाम: तिहारको मौलिक देउसी–भैलो अभियानले छामको मेल्लेख गाउँपालिका–४, कुस्कोटमा रहेको बासुकी माध्यमिक विद्यालयका लागि सुनौलो अवसर बनाएको छ।

स्थानीय शिक्षक, अभिभावक र युवाहरूको साझा पहलमा गाउँकै विद्यालयमा कक्षा ११ र १२ सञ्चालन गर्न आवश्यक शिक्षक तलब, शैक्षिक सामग्री र छात्रवृत्तिका लागि ११ लाख १५ हजार ९६२ रुपैयाँ संकलन गरी ‘अक्षय कोष’ स्थापना गरिएको छ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोकुल शाहका अनुसार हरेक रुपैयाँमा हाम्रो समुदायको पसिना र माया मिसिएको छ। उनले भने, “कोषको मूलधन सधैं सुरक्षित राखिनेछ र त्यसको ब्याजबाट कक्षा ११–१२ का शिक्षकको तलब, प्रयोगशाला व्यवस्थापन र गरिब विद्यार्थीको छात्रवृत्ति सुनिश्चित गरिनेछ।’

विद्यालयका प्राविधिक र गैर(प्राविधिक कर्मचारीको हालको अवस्था अनुसार, १७ शिक्षक, एक लेखापाल र एक परिचर गरी १९ जनाले विद्यालय सञ्चालनमा सहयोग गर्दै आएका छन्। अझै कक्षा ११–१२ सञ्चालनका लागि दुई शिक्षक आवश्यक रहेकाले, तिहारमा आयोजित देउसी–भैलो अभियानले यो चुनौतीलाई अवसरमा परिणत गरेको छ।

मेल्लेख–४ का वडा अध्यक्ष चन्द्र बहादुर साउदले भने, ‘दाताहरूको सानो सहयोगले गाउँको मुहार परिवर्तन गर्न सक्छ। अब हाम्रा छोरीहरूले आफ्नै घरको आँगनमा बसेर उच्च माध्यमिक तहसम्म पढ्न पाउनेछन्। यसभन्दा ठूलो उपलब्धि के हुन सक्छ?’

सुदूरपश्चिमका अन्य सामुदायिक विद्यालयहरूले पनि स्थानीय र विदेशमा रहेका सहयोगीहरूको पहल मार्फत अभाव पूर्ति गर्दै आएका छन्। उदाहरणका लागि, बझाङको सूर्योदय आधारभूत विद्यालयले भारतमा कार्यरत स्थानीयबाट १२ लाखभन्दा बढी रकम संकलन गरी कम्प्युटर ल्याब र बालबालिकाका लागि चिल्ड्रेन पार्क स्थापना गर्ने योजना अघि बढाएको छ।

यो अभियानले विद्यालय, समुदाय र विद्यार्थीबीच एकता बढाएको र शिक्षामा दीर्घकालीन योगदान सुनिश्चित गर्ने विश्वास गरिएको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode