Hikmat Acharya
  • २३ कात्तिक २०८२, शनिबार
  • काठमाडौं
Paschim Raibar

पश्चिम सेती परियोजना तीन हजार घरधुरी विस्थापित हुने


बैतडी : आठ सय मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत् आयोजना भारतीय कम्पनीले निर्माण गर्ने करिब निश्चित भएको छ ।

निर्माणको जिम्मा पाएको एनएचपिसी कम्पनी लिमिटेडले बिहीबार प्रभावित क्षेत्र बैतडीको ढुङ्गाड क्षेत्रका स्थानीयसँग वातावरणीय प्रभाव मूल्याङ्कन मसौदामाथि सार्वजनिक सुनुवाइ गरेको छ ।

प्रारम्भिक अध्ययन र स्थानीयका अनुसार बैतडी, डोटी, डडेलधुरा र बझाङ गरेर चार जिल्लाका तीन हजार ३१ परिवार विस्थापित हुने देखिएको छ ।

परियोजनाबारे भारतीय कम्पनी एनएचपिसीले भौगर्भिक, प्राविधिक, सामजिक, आर्थिक तथा वातावरणीय पक्षको प्रारम्भिक अध्ययन सकेर मसौदा तयार गरेको छ ।

सो मसौदामाथि सार्वजनिक सुनुवाइ कार्यक्रमका लागि चार वटै जिल्लाका समन्वय समिति प्रमुख, जिल्लास्थित वन र नापी कार्यालयका प्रतिनिधिलाई बोलाइएको थियो ।

सार्वजनिक सुनुवाइमा सहभागी हुनुभएका जिल्ला समन्वय समिति बैतडीका प्रमुख खगेन्द्रसिंह धामीले लामो समयको प्रतीक्षापछि पश्चिम सेती परियोजना बन्ने कुरा सुनिश्चित भएको बताए ।

कार्यक्रममा सिगास गाउँपालिका–५, र ६ नम्बर वडाका अध्यक्ष राजेन्द्रबहादुर चन्द र तेजबहादुर साउदलगायत स्थानीय जनप्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रममा पश्चिम सेती मूल सरोकार समितिका अध्यक्ष रतन साउदले परियोजनाका लागि स्थानीयवासी थातथलो छाड्न तयार भएको बताए ।

उनले पश्चिम सेती परियोजना बन्ने आसमा ढुङ्गाडका स्थानीयले विस्थापित हुनुपर्ने भएकाले पक्की घर नबनाई बसेको बताए ।

निर्माण कम्पनीले डोटीको दिपायलमा कार्यालयसमेत खोलिसकेको कम्पनीका विद्युत् प्रबन्धक भूपेन्द्र रावतले बताए ।

उनले भने, “विस्थापित परिवारलाई मुआब्जा दिन लगत तयारी गर्ने काम गर्दैछौँ । चार वटै जिल्लाको प्रारम्भिक लगत तयार भइसकेकाले प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहने जग्गा अधिग्रहण समितिमार्फत मुआब्जा पाउनेको टुङ्गो लागेपछि निर्माणको काम अघि बढ्छ ।”

कम्पनीले सन् २०२६ जनवरीबाट निर्माणको काम सुरु गर्ने लक्ष्य राखेको उनले बताए । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमले निर्माणको काम केही महिना पर सर्न सक्ने उनले जानकारी दिए ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode