Hikmat Acharya
  • २० कात्तिक २०८२, बुधबार
  • काठमाडौं
Paschim Raibar

पूर्व जनमुक्ति सेनाकी घाइते शुभेच्छाको प्रश्न, ‘पार्टीको नाम र पहिचान नै मेटिदिँदा हामीले के पायौँ ?’


धनगढी : नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित ९ वाम दलबीच आज एकता प्रक्रियाको घोषणा हुनेभएपछि जनयुद्धकालकी घाइते महिला योद्धा मिना कुमारी शाही (क. शुभेच्छा) ले सामाजिक सञ्जालमार्फत गम्भीर भावनात्मक प्रतिक्रिया सार्वजनिक गरेकी छन्।

१३ वर्षको उमेरमै जनयुद्धमा होमिएकी शाहीले युद्धकालमा भोगेका कठिन अनुभव, शारीरिक चोटपटक र आजको राजनीतिक परिवेशबाट उत्पन्न पीडा हृदयस्पर्शी शब्दमा व्यक्त गरेकी हुन्।

‘बाल्यकालदेखि जवानीसम्म पार्टीकै नाममा पसिना र रगत बगायौँ। आज पार्टीको नाम र पहिचान नै मेटिदिँदा हामीजस्ता घाइते–अपांग र सहिद परिवारहरुको मन चिरिएको छ,’ शाहीले लेखेकी छन्।

उनका अनुसार जनयुद्धमा सक्रिय हुँदा शरीरभरि छर्रा लगायतका चोटहरू पाएर आजसम्म शारीरिक पीडा भोगिरहेकी छिन्।

‘यो शरीर घाउले भरिएको छ। तर गर्वका साथ म सम्हालेर राखेकी थिएँ। तर अब त्यो गर्व गर्ने आधार नै नेता भनाउँदाहरूले खोसेझैं लागिरहेको छ,’ उनको भनाइ छ।

शाहीले युद्धमा ज्यान गुमाएका सहिद परिवार, बेपत्ता र घाइते योद्धाहरू ओझेलमा परिरहेका आरोप समेत लगाएकी छन्।

‘लाभ त नेताहरूले लिए, त्याग गर्ने हामीहरू ओझेलमा पर्ने परम्परा अझै पनि त्यही छ,’ उनले भनेकी छन्।

शाहीले सेना समायोजनपछि स्वैच्छिक अवकाश लिएर कुनै संगठनमा सक्रिय नभए पनि माओवादी नाम सुन्दा गर्व लाग्ने गरेको स्मरण गरिन्। तर, अहिलेको एकता र सत्ता–सम्झौताले आफूजस्ता पूर्वयोध्हाहरूलाई निराश बनाएको उनको भनाइ छ।

‘यो अन्त हिजो यस्तो नै हुन थियो भने किन बाल्य उमेरदेखि जीवन मृत्युसम्मको जोखिममा हामीलाई धकेलियो?’ उनले प्रश्न उठाएकी छन्।

शाहीले गौरवशाली इतिहासले एकदिन त्यो रगतको हिसाब माग्ने दाबी गरेकी छन्।


क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode