विश्वकप लिग–२ मा अमेरिकाका चार जित, युएई ४९ रनमा अलआउट
काठमाडौं : युएईमा जारी आइसिसी विश्वकप लिग–२ शृङ्खलामा अमेरिकाले चारवटै खेल जितेको छ । यस सिरिजको अन्तिम खेलमा अमेरिकाले सोमबार संयुक्त अरव इमिरेट्स (युएई)लाई दुई सय ४३ रनले हरायो ।
जितका लागि दुई सय ९३ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको घरेलु टोली युएई २१.१ ओभरका सबै विकेटको क्षतिमा ४९ रनमा समेटिएको थियो । युएईका लागि जुनैद सिद्धिक्वीले १० रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
युएईलाई सक्तैमा समेट्न अमेरिकाका रसिल उगरकरले पाँच विकेट लिए । यस्तै सौरव नेत्रभल्करले तीन विकेट झारे। यसअघि पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरका तीन विकेटको क्षतिमा दुई सय ९२ रनको योगफल खडा गरेको थियो ।
अमेरिकाका लागि मोनाङ्क पटेलले एक सय ३७ र मिलिन्ड कुमारले अविजित एक सय २३ रनको शतकीय पारी लिए । जितसँगै २४ खेलबाट ३६ अङ्क बनाएको अमेरिका शीर्षस्थानमा छ । पराजित युएई १९ खेलबाट आठ अङ्क जोड्दै अन्तिममा छ ।
१९ खेल सकेको नेपाल १२ अङ्कसहित सातौँ स्थानमा छ । यस शृङ्खलाको अन्तिम खेल कात्तिक १९ गते बुधबार युएईसँग खेल्नेछ । आठ टोली सहभागी लिगमा दोस्रो स्थानमा रहेको स्कटल्यान्डको २४ खेलबाट ३० अङ्क छ ।
यस्तै तेस्रो स्थानमा रहेको नेदरल्यान्ड्सको २४ खेलबाट २८, चौथो स्थानमा रहेको ओमानको २० खेलबाट २४, पाँचौँ स्थानमा रहेको क्यानडाको २४ खेलबाट २१ र छैटौँ स्थानमा रहेको नामिबियाको २४ खेलबाट १९ अङ्क छ ।
लिग–२ मा सहभागी आठ राष्ट्रले कुल नौ शृङ्खलामा ३६ खेल खेल्नेछन् । प्रत्येक राष्ट्रले घरेलु मैदानमा तीन शृङ्खला खेल्नेछन् भने ६ शृङ्खला अन्य राष्ट्रका मैदानमा खेल्नेछन् ।
प्रतियोगितामा शीर्ष चारमा रहने टोली सोझै सन् २०२७ मा हुने एकदिवसीय विश्वकपमा छनोट हुनेछन् ।
क्याटेगोरी : खेलकुद, समाचार










प्रतिक्रिया