Hikmat Acharya
  • १४ कात्तिक २०८२, बिहीबार
  • काठमाडौं
Paschim Raibar

कैलालीमा भारतीयसहित २६२ जना कैदीबन्दी अझै फरार


धनगढी : कैलाली कारागारबाट फरार भएका १९ भारतीयसहित २६२ जना कैदीबन्दी अझै पक्राउ पर्न सकेका छैनन् । जघन्य अपराधसहित विभिन्न मुद्दामा जेल गएका भारतीयसहितका कैदीबन्दी अझै पक्राउ नपरेका हुन्। कैदीबन्दी फरार भएको डेढ महिना पुगिसकेको छ।

हालसम्म चार सयभन्दा बढि कैदीबन्दी कारागार फर्केको जेलर चिरीञ्जिवी सापकोटाले जानकारी दिनुभयो । कारागार फर्केका मध्ये केही कैदीबन्दी कैद अवधि भुक्तान गरेर छुटिसकेका छन्।

जेनजी आन्दोलनको क्रममा भदौ २४ गते कारागारबाट ६६५ जना कैदीबन्दी फरार भएका थिए। फरार भएकामध्ये धेरैजसो आफैै फर्केका छन् भने कतिपयलाई प्रहरीले पक्राउ गरेको थियो। कारागारमा ६६७ जना कैदीबन्दी रहेकोमा एक जना अस्पतालमा उपचाररत अवस्थामा रहेका र अर्का एक कारागारबाट नभागेका जनाइएको छ।

कारागार प्रशासनका अनुसार पक्राउ पर्न नसकेका १९ भारतीयमध्ये जासिर खान ज्यान मार्ने उद्योग र डाँका, चोरी अपराधमा जेल परेका थिए । यस्तै, हातहतियार र खरखजाना मुद्दामा जेल परेका लखिमपुर खिरीकै विपिन कुुमार, देशराज राना र सौरभ सिंह पनि कारागार नफर्केका जनाइएको छ।

मानव ओसारपसार तथा शरीर बन्धक मुद्दामा जेल परेका उत्तर प्रदेशको हिना खान पनि फरार रहेको कारागार प्रशासनले जनाएको छ। यसैगरी, वन्यजन्तु सम्बन्धी मुद्दामा जेल परेका पन्जाबको श्रवणकुमार बाबरिया पनि कारागार नफर्केको जेल सापकोटाले जानकारी दिए।

कारागारबाट फरार रहेका अन्य भारतीयमा १२ जना लागुऔषध र एक जना चोरी मुद्दामा जेल परेका थिए।

अझै फरार रहेका कैदीबन्दीलाई पक्राउ गरेर कारागार फर्काइने कारागार प्रशासनले जानकारी दिएको छ।


क्याटेगोरी : अपराध, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode