Hikmat Acharya
  • ११ कात्तिक २०८२, सोमबार
  • काठमाडौं
Paschim Raibar

कञ्चनपुरमा एक सय १३ जुवाडेमाथि कारबाही


कञ्चनपुर : प्रहरीले कञ्चनपुरका विभिन्न स्थानमा तिहारको समयमा जुवा खेलिरहेको अवस्थामा एक सय १३ जनालाई पक्राउ गरेको छ।

प्रहरीले जुवा खालहरूबाट नगद सात लाख २९ हजार ५४६ रुपैयाँ बरामद गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार जिल्लाका भीमदत्त, दोधारा–चाँदनी, बेदकोट, शुक्लाफाँटा र बेलडाँडी क्षेत्रमा चौबिसै घण्टा जुवा तास खेलिरहेको गोप्य सूचनाका आधारमा सो कारबाही गरिएको हो।

प्रहरीका अनुसार असोज २४ देखि कात्तिक ८ गतेसम्म विभिन्न स्थानमा सञ्चालन भएका जुवा खालहरूमा छापा मार्दा १४ वटा मुद्दा दर्ता भएका छन्।

भीमदत्त नगरपालिका–१८ सिद्धिबिनायक टोलस्थित भास्कर भट्टको चिया पसलबाट असोज २४ गते ११ जनालाई रु २१ हजार ६३५ सहित पक्राउ गरिएको थियो।

त्यस्तै, असोज २६ गते पिपरैयास्थित सुरेन्द्र बोहराको पसलमा ११ जनालाई रु ५४ हजार ४९१, र असोज २७ गते बेदकोट–९ मा रहेको विकास बमको अम्बै कटेजबाट नौ जनालाई रु १ लाख ६९ हजार ९३५ सहित नियन्त्रणमा लिइएको थियो।

शुक्लाफाँटा–११ कलुवापुरमा असोज २८ गते १० जना जुवाडे पक्राउ परे भने कात्तिक १ गते महेन्द्रनगरको गल्ली नम्बर १ मा ६ जना नियन्त्रणमा लिइएका थिए।

त्यस्तै, बेलडाँडी गाउँपालिका–२ चौवन्नी बजारस्थित झलक क्याफेमा कात्तिक ४ गते आठ जना र बेदकोट–३ दैजिमा सात जना जुवाडे पक्राउ परे। सो क्रममा रु ७९ हजारभन्दा बढी नगद बरामद गरिएको थियो।

कात्तिक ५ गते दोधारा–चाँदनी–३ मा डम्बर दमाईको घरमा चार जना र भीमदत्त–१८ पुष्पलाल चोकमा सात जना पक्राउ परे।

त्यसैगरी कात्तिक ६ र ७ गते दोधारा–चाँदनी–१ पशुपति टोलमा आठ जना र कात्तिक ८ गते भीमदत्त–१ भासीमा नौ जना जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

मुलुकी अपराध संहिता अनुसार, पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था छ।

प्रहरीले पक्राउ परेका सबैलाई अनुसन्धानपछि रिहा गरिएको जनाएको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode