Hikmat Acharya
  • ११ कात्तिक २०८२, सोमबार
  • काठमाडौं
Paschim Raibar

बयालपाटा अस्पतालमा निःशुल्क सेवा बन्द, स्वास्थ्य बिमा र सामाजिक सुरक्षा सेवा पनि रोकियो


अछाम : सुदूरपश्चिम प्रदेश सरकारले सञ्चालनमा ल्याएको बयालपाटा प्रादेशिक अस्पतालले कात्तिक १ गतेदेखि निःशुल्क उपचार सेवा बन्द गरेको छ। अस्पतालले स्वास्थ्य बिमा र सामाजिक सुरक्षा इकाइमार्फत दिइँदै आएको सेवा पनि रोकेपछि बिरामीहरू मर्कामा परेका छन्।

अस्पतालका अनुसार भदौ १ गतेदेखि सुदूरपश्चिम प्रदेश सरकार मातहतमा आएपछि प्रशासनिक प्रक्रिया र कानुनी कागजात तयारीका कारण स्वास्थ्य बिमा सेवा स्थगित गरिएको हो।

त्यसैगरी सामाजिक सुरक्षा इकाइ पनि हाल सञ्चालनमा छैन। अस्पताल प्रशासन प्रमुख यज्ञराज भट्टका अनुसार स्वास्थ्य बिमा मार्फत उपचार सेवा पुनः सुरु गर्नका लागि आवश्यक सबै कागजात राष्ट्रिय स्वास्थ्य बिमा बोर्डमा पठाइसकिएको छ।

‘बोर्डबाट स्वीकृति आएपछि मात्रै स्वास्थ्य बिमा सेवा सुचारु हुनेछ,’ भट्टले भने, ‘सामाजिक सुरक्षा इकाइ पनि छिट्टै पुनःस्थापना गर्ने तयारीमा छौं।’

पहिले न्याय हेल्थ नेपाल र अमेरिकास्थित पोसिबल नामक संस्थाको सहकार्यमा सञ्चालन हुँदै आएको बयालपाटा अस्पतालले १७ वर्षदेखि निःशुल्क सेवा दिँदै आएको थियो। भदौ १ गतेदेखि प्रदेश सरकारको मातहतमा आएपछि अस्पतालले सबै सेवा शुल्कसहित सञ्चालन गर्न थालेको हो।

अस्पताल स्रोतका अनुसार दैनिक औसतमा करिब ५० जना स्वास्थ्य बिमा गराएका बिरामी र कम्तीमा ७ देखि ८ जना सामाजिक सुरक्षा इकाइका लाभार्थी उपचारबाट वञ्चित भइरहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको सामाजिक सुरक्षा इकाइले गरिब, असहाय, अपांगता भएका, ज्येष्ठ नागरिक, लैङ्गिक हिंसा पीडित, विपद् प्रभावित र लोपोन्मुख समुदायका बिरामीलाई प्राथमिकता दिएर उपचारमा पहुँच सुनिश्चित गर्ने व्यवस्था गरेको छ।

अस्पतालले हाल सबै प्रकारका उपचार सेवामा शुल्क लिन थालेको छ। निःशुल्क र सहुलियत दरका सेवा बन्द भएपछि आर्थिक रूपमा कमजोर बिरामीलाई उपचारमा कठिनाइ परेको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode