Hikmat Acharya
  • १० कात्तिक २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

सुदूरपश्चिममा सीडीओ फेरबदल, डडेल्धुरामा चार र कैलालीमा अढाइ महिना नहुँदै सरुवा


धनगढी : सुदूरपश्चिमका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको छ। गृह मन्त्रालयले ३६ उपसचिवको सरुवा गर्दा ३० जिल्लामा सीडीओ पनि हेरफेर गरेको हो। कैलाली डडेल्धुरा र अछामका सीडीओ हेरफेर गरिएको हो।

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको सरुवा कपिलवस्तु गरिएको छ। गौतमले गत असार ११ गते डडेल्धुरामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) का रूपमा पदभार सम्हालेका थिए।

छोटो अवधिमा नै उनले प्रशासनिक कामकाजमा चाँडो निर्णय गर्ने, स्थानीय निकायहरूसँग सहकार्य बढाउने र नागरिक सेवामा पारदर्शिता ल्याउने जस्ता पहलका कारण प्रशंसा पाएका थिए।

उनको कार्यकालमा जिल्ला शान्ति सुरक्षा संयन्त्र सुदृढ बनाउने, स्थानीय समस्या समाधानमा सक्रियता देखाउने र नागरिकमैत्री प्रशासन निर्माण गर्ने प्रयास भएको सरोकारवालाहरू बताउँछन्।

गौतमको सरुवापछि डडेल्धुरामा सहसचिव सीडीओ पठाउने वा सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनलाई जिम्मेवारी दिने भन्ने विषयमा गृह मन्त्रालयले केही समयमै निर्णय गर्ने बताइएको छ। पुन उपसचिव हुन्।

यस्तै, कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालको सरुवा नवलपरासी (वर्दघाट पूर्व सुस्ता) गरिएको हो भने नवलपरासी (वर्दघाट पूर्व सुस्ता)का हिरालाल रेग्मी आउने भएका हुन्।

लम्साल साउन अन्तिम साता कैलाली आएका थिए।

२४ साउनमा कैलाली कारागारमा कैदीबन्दीबीच भएको हिंसात्मक घटनालाई लिएर गृह प्रशासनले प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाललाई मन्त्रालय तानेर उनको ठाउँमा लम्साललाई पठाएको थियो।

दाङको प्रमुख जिल्ला अधिकारी रहेका लम्साललाई गृह मन्त्रालयले काजमा यहाँ पठाएको थियो। अछामका प्रमुख जिल्ला अधिकारी आनन्द सारुको सरुवा गुल्मी भएको हो।

उनको ठाउँमा गुल्मीमा कार्यरत सीडीओ विष्णुप्रसाद कोइराला आउने भएका छन्।

सरकारले अघिल्लो सरकारको पालामा गएका सीडीओहरुको जिम्मेवारी हेरफेर गरेको  हो।

गत भदौमा मन्त्रालयले विभिन्न जिल्लाका सीडीओ फेरेको थियो । धेरैको सरुवा चलखेलको आधारमा भएको सूचनाका आधारमा अहिले सरुवा गरिएको गृह मन्त्रालय स्रोत बताउँछ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode