Hikmat Acharya
  • १० कात्तिक २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

महाराजगञ्ज वृत्तका प्रहरी हत्या आरोपमा थप ५ जना पक्राउ


काठमाडौं– प्रहरी वृत्त महाराजगञ्ज प्रहरी हत्याको आरोपमा थप पाँच व्यक्ति पक्राउ परेका छन् ।

वृत्तका असई मिलन राय र जवान उत्तम थापाको हत्या आरोपमा थप पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा गोरखाका २१ वर्षीय सोमबहादुर गुरुङ, तनहुँका २१ वर्षीय राजीव गुरुङ, युनिक श्रेष्ठ, सर्लाहीका १७ वर्षीय सुमित तितुङ र रामेछापका १६ वर्षीय दीपक मगर छन् ।

उनीहरूलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।

यसअघि प्रहरी हत्याको आरोपमा पक्राउ परेका चार जना पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।

असई रायको हत्या आरोपमा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका– ४ घर भएका ६२ वर्षका होमप्रसाद पौडेल र उदयपुरको चौदण्डीगढी नगरपालिका–१० हडिया घर भएका २८ वर्षीय टिकाराम विक पक्राउ परेका थिए ।

उनीहरूविरुद्ध कर्तव्य ज्यान र आपराधिक उपद्रवको कसुरमा मुद्दा दर्ता भएकोमा दुवै जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

त्यसैगरी प्रहरी जवान उत्तम थापाका हत्या आरोपमा काभ्रेको रोशी गाउँपालिका–९ राजवास घर भएका २८ वर्षीय युवराज क्याप्छाकी र मकवानपुरको थाहा नगरपालिका–७ बतासे घर भएका २१ वर्षीय सोनाम तामाङ भन्ने बुद्धिलाल थिङ पक्राउ परेका थिए । उनीहरू पनि पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

जेनजी आन्दोलनको क्रममा उनीहरुका साथै प्रहरी प्रभाग कोटेश्वरका हवल्दार अमृत गुरुङको पनि हत्या भएको थियो ।


क्याटेगोरी : राष्ट्रिय, समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode