काँग्रेस नेता पाण्डेद्वारा मरणोपरान्त आँखा दान गर्ने घोषणा
कैलालीः अत्तरिया निवासी नेपाली कांग्रेसका युवा नेता लोक राज पाण्डे (आगो) ले मरणोपरान्त आँखा दान गर्ने घोषणा गरेका छन्। शनिवार आमाको वार्षिक पुण्य तिथिको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो घोषणा गरेका हुन्।
पाण्डेले नेपाल नेत्र ज्योति संघ कैलाली मार्फत आँखा दान गर्ने घोषणा गरेका हुन्। उनले भने, ‘आमाले मलाई संसार देखाउनुभयो, अब म पनि मेरो आँखाले अरूलाई संसार देखाउन चाहन्छु।’
उनले आँखा दानसँगै आफ्नो शरीर पनि मरणोपरान्त सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई दान गर्ने विचार रहेको बताए।
उनका अनुसार विश्वविद्यालयमा एमबिबिएस अध्ययन सुरु भई ६ सय शय्याको अस्पताल सञ्चालनमा आएपछि सो निर्णय औपचारिक रूपमा सार्वजनिक गर्ने तयारीमा छन्।
कार्यक्रममा गेटा आँखा अस्पतालका नेत्र अधिकृत देव राज पनेरुले पाण्डेले गरेको आँखा दान सम्बन्धी इच्छापत्र पढेर सुनाएका थिए। नेत्र अधिकृत पनेरुले एक व्यक्तिले गरेको आँखा दानले दुई जनाको आँखाको ज्योति फर्काउन सकिने बताउँदै आँखा दानजस्तो पवित्र र सार्थक दान अरू कुनै नहुने उल्लेख गरे।
उक्त कार्यक्रममा एभरेस्ट एकेडेमी अत्तरिया र नवजीवन अस्पतालका प्रतिनिधिहरू समेत उपस्थित रहेका थिए।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम










प्रतिक्रिया