Hikmat Acharya
  • ९ कात्तिक २०८२, शनिबार
  • काठमाडौं
Paschim Raibar

सुदूरपश्चिमको प्रसिद्ध शक्तिपीठ उग्रतारा मेला १९ कात्तिकमा


धनगढी : सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा मनाइने उग्रतारा मेला (देहिजाँत) १९ कात्तिकदेखि सुरु हुने भएको छ । हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात र दोस्रो दिन मेला लाग्छ ।

राति लाग्ने मेलालाई ‘रतेडी’ र दिउँसो लाग्ने मेलालाई ‘दिउसेडी’ भनिन्छ । सोहीअनुसार १८ कात्तिकमा रतेडी र १९ कात्तिकमा बुधबारका दिन दिउसेडी लाग्ने उग्रतारा क्षेत्र विकास समितिले जनाएको छ ।

छचोडा, खनमडा, दुमडा र जिलोडा भ्राण (भण्डार) रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आएपछि ‘दिउसेडी’ मेला सुरु हुन्छ ।

डडेल्धुरा सदरमुकामबाट ४ किलोमिटर टाढा अमरगढी नगरपालिका– ८ को डाँडामा अवस्थित महाशक्तिपीठ उग्रतारा भगवतीको मन्दिरमा लाग्ने मेलामा हजारौँ दर्शनार्थी पूजा–आराधना गर्न पुग्छन् ।

देहिजातको रूपमा मानिने उग्रतारा भगवती मेलामा सुदूरपश्चिम प्रदेश, कर्णाली तथा छिमेकी देश भारतबाट समेत हजारौँको संख्यामा श्रद्धालु भक्तजन हरेक वर्ष पुग्ने गरेको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले बताए ।

परम्परादेखि लाग्दै आएको यस मेलाको आफ्नै महत्त्व रहेको उनको भनाइ छ ।

भगवती माताको पूजा बिहान ४ बजे धार्मिक परम्परागत रूपमा दाइन दमाह, रुइसिङ, विगुल, भोकर, शङ्ख, घण्टा इत्यादि बाजागाजाका साथ चारवटै गाउँबाट माता भगवतीको डोलीसहित देउरो उग्रतारा मन्दिरमा पुगेसँगै भगवती माताको पूजा सुरु हुने अमरगढी नगरपालिका– ८ का स्थानीय नरबहादुर साँकीले बताए ।

किंवदन्तीअनुसार २ हजार ५ सय वर्षपहिला हालको अमरगढी नगरपालिका लटाउली बस्ने साँकी जातिका स्थानीयले हलो जोत्दा हलोको फाली लागेर रगत बगेपछि देवी उत्पन्न भएर दर्शन दिएको र त्यस दिनदेखि महागौरी दुर्गा र कालीको स्वरुपमा उग्रतारा भगवतीको पूजा गरिँदै आइएको छ ।

उग्रतारा माताको दर्शन गरेमा दैवी प्रकोप नहुने, सुख प्राप्ति, मनोकामना पूरा हुने जनविश्वास छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode