छठ पर्व आजदेखि सुरु
जनकपुरधाम– सूर्यदेवको आराधना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आजदेखि विधिवत रूपमा सुरु भएको छ ।
पहिलो दिन आज ‘नहाय–खाय’ मनाइँदैछ । आजको दिन ब्रतालुहरूले नदी वा पोखरीमा स्नान गरी अरवा–अर्बाइन भोजन ग्रहण गर्ने परम्परा छ ।
पारिवारिक सुख–समृद्धि र सन्तानको कल्याणको कामनासहित मनाइने यस पर्वको दोस्रो दिन भोलि (आइतबार) खरना रहेको छ । भोलि साँझ ब्रतालुहरूले चामल, सक्खर र दूधबाट खीर बनाएर प्रसादस्वरूप ग्रहण गरी खरना विधि गर्ने गरिन्छ ।
तेस्रो दिन सोमबार छठको मुख्य दिन सौझकारकका रूपमा मनाइन्छ । यस दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा सामग्रीसहित जलाशय किनारमा अघ्र्य दिने चलन छ ।
अन्तिम दिन मंगलबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्वको विधिवत् समापन हुनेछ । अन्तिम दिनलाई ‘पारन’ भनिन्छ ।
छठ पर्वमा बाँसको ढाकी, डगरी, माटोको कोसिया–कुरबार, हात्ती आदिसहितका सामग्री अर्पण गरिन्छ ।
त्यस्तै ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा, तरकारी, मिठाई तथा विभिन्न फलफूल प्रसादका रूपमा सूर्यदेवलाई अघ्र्य अर्पण गरिन्छ।
अघ्र्य दिने ब्रतालुले ४८ घण्टासम्म अन्न र पानी त्यागेर व्रत बस्ने परम्परा छ, त्यसैले छठलाई निष्ठा र कठोर साधनाको पर्व मानिन्छ ।
अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएर चढाइएको सामग्री प्रसादका रूपमा ग्रहण र वितरण गरिने भएकाले यो पर्व सामाजिक सद्भाव र एकताको प्रतीकका रूपमा पनि लिइन्छ ।
तराई–मधेशका बजारहरूमा अहिले पूजा सामग्री किनमेलको चहलपहल छ भने नदी, पोखरी र जलाशयका घाटहरू आकर्षक रूपमा सजाइँदै छन् ।
जनकपुरका गंगासागर, धनुषसागर, अंगराजसर र दशरथ तालजस्ता ऐतिहासिक जलाशयहरू नवदुलहीझैं सिंगारिने क्रम जारी छ । मिथिलाञ्चल र सम्पूर्ण तराई–मधेश अहिले छठ गीतका मधुर स्वरले गुन्जायमान बनेका छन् ।
क्याटेगोरी : राष्ट्रिय, समाचार










प्रतिक्रिया