राष्ट्रिय सम्मानका साथ विपिन जोशिको महाकालीमा अन्त्येष्टि गरियो

कञ्चनपुर– हमासको आक्रमाणमा परेर बन्धक बनाइएर मारिएका विपिन जोशीको आज कञ्चनपुरस्थित महाकाली नदी किनारमा अन्त्येष्टि गरिएको छ।
महाकालीको भुजेला आर्यघाटमा राष्ट्रिय सम्मानसहित उनको अन्त्येष्टि गरिएको हो। विपिन जोशीको सम्मानमा सशस्त्र प्रहरीले सलामी अर्पण गरेको थियो।
उनको शव इजरायलबाट सोमवार दिउँसो काठमाडौँ ल्याइपुर्याइएको थियो। काठमाडौँबाट नेपाली सेनाको स्काइ ट्रकबाट धनगढी र धनगढीबाट सडक मार्ग हुँदै कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीस्थित घर पु¥याइएको थियो।
विपिनको शव परिवारलाई हस्तान्तरण गर्न नेपालस्थित इजरायली राजदूतसहितका अधिकारी विपिनको घरमा पुगेका थिए।
सोमवार राति घरमा शव पुगेकाले मङ्गलवार बिहान शवयात्रासहित महाकाली नदी किनारमा लगेर अन्त्येष्टि गरिएको हो। दुई वर्षअघि अध्ययनको सिलसिलामा इजरायल गएका विपिन जोशीको हमास लडाकुको नियन्त्रणसँगै हत्या भएको थियो।
दुई वर्षअघि सुदूरपश्चिम विश्वविद्यालयको ‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिन इजरायल पुगेको एक महिनामै हमासको आक्रमणमा परेका थिए। हमासले सन् २०२३ को अक्टुबर ७ को दिन विपिनलाई अपहरण गरेको थियो।
उक्त आक्रमणमा परेर सुदूरपश्चिम विश्वविद्यालयका १० विद्यार्थीको मृत्यु भएको थियो भने विपिनलाई बन्धक बनाइएको थियो। दुई वर्षसम्म उनको अवस्था अज्ञात थियो।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया