कञ्चनपुरकि नाथ मृत्यु प्रकरण : पाँच जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा

काठमाडौं : टिकटकर आँचल नाथ भनिने कल्पनाकुमारी नाथ मृत्यु प्रकरणमा पाँच जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता भएको छ ।
प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा पाँच जनाविरुद्ध मुद्दा दर्ता गरेको हो ।
मुद्दा दर्ता गरिएका प्रतिवादीहरुमा दैलेखको भगवती नगरपालिका–१ घर भएका २६ वर्षीय सन्जु विक, रुकुम चौरजहारी गाउँपालिका–६ घर भएकी अनु भनिने उर्मिला विक, सिन्धुपाल्चोककी २६ वर्षीया सरु भनिने सरस्वती भण्डारी, कैलालीको गौरीगंगा गाउँपालिका–१ कि २२ वर्षीय राजेश बुढा र सोही ठाउँकी २२ वर्षीया लक्ष्मी बुढा रहेका छन् । उनीहरूमध्ये सञ्जु मात्रै पक्राउ परेका छन् ।
बाँकी चार जनालाई भने फरार प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको छ ।टिकटकमार्फत नै चिनजान भएका प्रतिवादीहरूविरुद्ध आत्महत्या दुरुत्साहनको कसुरमा पाँच वर्षसम्म कैदको मागदाबी गरिएको छ ।
टिकटक लाइभमै विवाद भएको त्यसपछि ज्यान मार्नेसम्मको धम्की आएको दाबी गरिएको छ । धम्की आएको भनिएकै दिन २१ वर्षीया नाथ जलेको अवस्थामा कोठामा भेटिएकी थिइन् ।
उद्धार गरेर सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो । तर, दुई दिनपछि ११ गते उनको मृत्यु भएको थियो ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया