आगामी निर्वाचनका लागि डडेल्धुरामा थपिदै छन् ‘जेन्जी’ मतदाता

डडेलधुरा: आगामी फागुन २१ गतेका लागि तोकिएका निर्वाचनका लागि मतदाता सङ्ख्या थपिँदैछन् । निर्वाचन कार्यालयले गरिरहेको मतदाता नामावली सङ्कलनमा जेनजी उमेर समूहका युवा बढी रहेको पाइएको छ ।
२०७९ को निर्वाचनसम्म डडेलधुरा जिल्लामा ९४ हजार ३१४ मतदाता थिए।
जिल्ला निर्वाचन कार्यालय डडेलधुराका कार्यालय प्रमुख करुणाकर अवस्थीका अनुसार हाल सङ्कलन भइरहेको मतदाता नामावली सङ्कलनमा दैनिक मतदाताको सङ्ख्या थपिँदै गइरहेका छन्।
उनका अनुसार शुक्रबार कार्यालय समयभित्र १२९ जना नयाँ मतदाताहरूले नाम दर्ता गराए। यो सङ्ख्यामध्ये जेनजी उमेर समूह करिब ९० प्रतिशत भएको उनले बताए। नयाँ नागरिकता बनाउनेको सङ्ख्या धेरै र केही छुटेका मतदाताहरू नाम दर्ताका लागि कार्यालय पुग्ने गरेको उनले बताए।
हालसम्म नाम दर्ता गराउनु भएका मतदातामध्ये पुरुष ८६ र महिला ४३ रहनुभएको छ । अरू जिल्लाभन्दा कम जनसङ्ख्या हुनु र अधिकांश युवा विदेशतिर रहेकाले मतदाता नामावली सङ्कलनमा चाप कम देखिएको उनले बताए।
२०७४ को निर्वाचनमा डडेलधुराको मतदाताको सङ्ख्या ८८ हजार ४५ थियो। सो कार्यालयका कम्प्युटर अपरेटर भवानीदत्त भट्टका अनुसार २०७८ सम्म छ हजार २६९ मतदाता थप भएर डडेलधुराको कुल मतदाता सङ्ख्या ९४ हजार ३१४ पुगेको थियो । यस वर्षको चुनावमा उथलपुथल नै हुने गरेर मतदाता नथपिने अनुमान गर्न सकिने उनले बताए।
प्रतिनिधि सभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको डडेलधुरामा प्रदेश सभातर्फ दुई वटा निर्वाचन क्षेत्र रहेका छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार डडेलधुराको कुल जनसङ्ख्या एक लाख ३९ हजार ४२० रहेको छ । बाजुरा समाचारदाताका अनुसार बाजुरामा नयाँ मतदाता नामावली बनाउनेको सङ्ख्या वृद्धि भएको छ ।
आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सरकारले नयाँ मतदाता नावली बनाउन सहज गरेसँगै यहाँका युवायुवती धमाधम आफ्नो मतदाता नामावली बनाउन जिल्ला निर्वाचन कार्यालय मार्तडी पुग्ने गरेका हुन्।
नामावली बनाउन छुटेका र अहिले बल्ल १८ वर्ष उमेर पुगेकाले निर्वाचन कार्यालय मार्तडीमा आफ्नो मतदाता नामावली बनाउने गरेका छन्।
असोज १० गतेदखि अहिलेसम्म यहाँ ८४ महिला र १२७ पुरुष गरेर २११ जनाले नयाँ मतदाता नामावली बनाएको जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख अङ्ग महतले बताए। बाजुरामा २०८२ भदौसम्म ४१ हजार ९२० महिला, ४४ हजार ५३५ पुरुष र तीन जना अन्य गरेर ८६ हजार ५७५ जना मतादाता रहेको महतले बताए।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया